झापा, साउन १०ः उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा–१०, दोमुखाकी ३७ वर्षीया अम्बिका ढकाल तीन वर्षदेखि साङ्लोमा बाँधिन बाध्य छिन् । ढकाल घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङ्लोले बाँधेर राखेको पारिवारिक सदस्यले बताएका छन् ।
ढकालका दुवै खुट्टामा साङ्लो लगाएको छ । उनी बिस्तारै मात्र यताउति हिँड्डुल गर्न सक्छिन् । १६ वर्षअघिदेखि बिरामी पर्दै आएकी अम्बिकालाई गरिबीका कारण औषधि उपचार गर्न नसक्दा साङ्लोले बाँधेर राख्नुपरेको आमा सरस्वता ढकालले दुःखेसो गरे ।
अम्बिकाले स्थानीय माईखोलामा गिट्टी कुटेर आफ्नी आमा र भाइलाई पाल्दै आएकी थिइन् । २०६० सालमा अम्बिकाले भागेर विवाहसमेत गरेकी थिइन् । विवाहपश्चात् बच्चा पेटमा भएको अवस्थामा श्रीमान्ले छोडेपछि उनी माइतमै बस्दै आएकी थिइन् । माइतमै छोरीलाई जन्म दिएकी थिइन् । छोरी चार वर्षकी भएपछि एक्कासि अम्बिकामा स्वास्थ्य समस्या देखापरेको आमा सरस्वताले बताइन् ।
सुरुमा उपचारका लागि भारतको सिलगुडीसम्म लगेर उपचार गरिएको थियो तर आर्थिक अभावका कारण थप उपचार हुन नपाएको ढकाल परिवारको गुनासो छ । परिवार पाल्ने जिम्मेवारी पाएकी छोरीकै यो हविगत भएपछि बिरामी र परिवारकै बिचल्ली भएको छ । कमाएर ल्याउने छोरी बिरामी भएपछि रकम अभावका कारण औषधि गर्न नसकिएको आमा सरस्वताको भनाइ छ ।
गत तीन वर्षदेखि घर छोडेर भाग्ने, अरूलाई कुट्ने र हराउने भएकाले छिमेकीको सहयोगमा छोरीको दुवै खुट्टामा साङ्लोले बाँधेर राखेको आमा सरस्वताले बताइन् । गरिबीका कारण उपचार नपाउँदा साङ्लोमा बाँधिनुपरेको स्थानीयको भनाइ छ । छोरीले राम्रो उपचार पाए निको हुने आमाको भनाइ छ । “कोही सहयोगी दाता पाए हाम्रो परिवारको कल्याण हुने थियो,” आमा सरस्वताले भनिन् । छोरीले जो कोहीलाई कुट्ने, पिट्ने गरेपछि छोरी र नातिनीकै पनि भेट नभएको आमाले बताइन् । गाेरखापत्र दैनिकबाट