गृह सचिव राई र प्रहरी प्रमुख खनाल पुरस्कृत

रिपोर्ट नेपाल | 2019 Apr 18 | 04:58 pm 1797

काठमाडाैं,  वैशाख ५ :  गृह मन्त्रालयले गह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतलाई पुरस्कृत गरेको छ । बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको हो ।

गृह मन्त्रालयमा बिहीबार एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उनीहरुलाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरिएको छ ।

त्यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताए ।

गृह मन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३–७४ सम्मको खर्च २०७४–७५ मा फर्छ्यौट गरिसक्नुपर्नेमा करिब ६३.०३ प्रतिशत फर्छ्यौट गरेको छ । गृहले चार अर्ब ३० करोड ९७ लाखमध्ये दुुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेका छन् ।

यस्तै नेपाल प्रहरीको आर्थिक वर्ष ०७३–७४ सम्मको बेरुजु ६८ करोड ४१ लाख रुपैयाँमध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.