काठमाडौँ, माघ २९। नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गन्तव्यमा प्रतिस्पर्धा गर्न चालु आर्थिक वर्ष २०८०/८१ भित्रै जहाजको सङ्ख्या ११ वटा पुर्याउने तयारी गरेको छ ।
हाल अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई वटा जहाज रहेको निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने तयारी अनुसार दुई वटा न्यारोबडी भाडामा लिने तयारी गरिरहेको छ भने आन्तरिकतर्फ स्टल रुट (दुर्गम गन्तव्य) मा उडान गर्न तीन वटा जहाज खरिद प्रक्रियाको मूल्याङ्कन भइरहेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आन्तरिकतर्फ व्यापार अभिवृद्धि गर्न जहाजको सङ्ख्या कम रहेकाले नयाँ जहाज खरिदमार्फत निगमको आम्दानी बढाउने व्यावसायिक योजना अनुसार जहाज खरिदमा परेका प्रस्तावको आर्थिक र प्राविधिक पक्षको मूल्याङ्कन प्रक्रिया चलिरहेको छ ।
उहाँले भन्नुभयो, “दुर्गममा उडानका लागि निगमले आह्वान गरेको प्रस्तावमा तीन वटा विदेशी कम्पनीले चासो देखाएका थिए । निगमलाई जहाज बेच्न प्रस्ताव पेस गरेका भारत, क्यानडा र चेक रिपब्लिकका कम्पनीको प्रस्तावको मूल्याङ्कन भइरहेको छ । मूल्याङ्कन प्रक्रिया सकिएको तीन महिनाभित्रै जहाज खरिद प्रक्रियाले पूर्णता पाउने छ ।”
निगमको आन्तरिक स्रोतबाटै खरिद गरिने जहाज बेच्न भारतको हिन्दुस्थान एरोनोटिक्स लिमिटेड, क्यानडाको डी ह्याभिल्यान्ड एयरक्राफ्ट अफ क्यानडा लिमिटेड र चेक रिपब्लिकको एयरक्राफ्ट इन्डस्ट्रिज एएसले प्रस्ताव पेस गरेका थिए । आन्तरिकतर्फ नयाँ जहाज थपिएपछि थप गन्तव्यमा उडान विस्तार हुने उहाँले जानकारी दिनुभयो । हाल निगमसँग रहेका दुई वटा ट्विनअटर जहाजले देशका विभिन्न १५ वटा गन्तव्यमा साताको २५ वटा उडान भर्दै आएको छ ।
त्यस्तै अन्तर्राष्ट्रियतर्फ दुई वटा न्यारोबडी जहाज भाडामा लिन निगमले बोलपत्र आह्वान गरेकाले चालु आर्थिक वर्षभित्रै जहाजको सङ्ख्या ११ पुर्याउने योजना रहेको उहाँले बताउनुभयो ।
निगमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत ४५ दिनको समय दिएर गत मङ्गलबार एयरबस ३२०–२०० सिरिजका दुई वटा जहाज भाडामा लिन प्रस्ताव माग गरेको हो । जहाज थपेर व्यापार बढाउने कार्ययोजनाका साथ काम अघि बढाएको निगमले नयाँ जहाज थपेर नजिकका अन्तर्राष्ट्रिय
गन्तव्य र हाल मौज्दात वाइडबडी जहाजमार्फत लामो दुरीका गन्तव्यमा उडान विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाल निगमसँग भएको दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग भए अन्य गन्तव्यमा हाल भएका दुई न्यारोबडी जहाजले उडान चापको माग धान्न नसक्ने देखिएको छ । त्यसकारण थप दुई जहाज लिजमा लिएर दिल्ली, दुबई, दोहा, मलेसियालगायत क्षेत्रमा उडान थप गरी आय बढाउने योजना छ ।”
चीनसँग खरिद गरेका चिनियाँ जहाज खरिदमा कुनै कम्पनीले पनि चासो नदेखाएपछि निगमले पुनः लिलामीमा राखेको छ ।
प्रवक्ता पौडेलका अनुसार पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत र नाफा दिन नसकेको भन्दै निगमले यी जहाज बिक्रीका लागि लिलामीमा राखेको हो ।
अमेरिकी कम्पनी एभिएसन एसेस्ट म्यानेजमेन्ट इन्टरनेसनलले गरेको मूल्य निर्धारणको आधारमा पाँचवटै चिनियाँ जहाज लिलामीमा राखिएको हो ।
(गोरखापत्रबाट)