महेन्द्रनगर, भदौ २८ : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्या भएको दुई महिना पुग्न लाग्दा पनि हत्यारा पत्ता लगाउन नसकेपछि पुनः अन्दोलन शुरु भएको छ । वास्ताविक हत्याराको सार्वजनिक गर्न माग राख्दै महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले विहीबारबाट आन्दोल शुरु गरेको हो ।
भदौ ८ गतेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय किशोर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः सुरु भएको हो । उच्चस्तरीय छानबिन समितिलाई काम गर्न दिने भन्दै यसअघि आन्दोलन रोकिएको थियो । समितिले समेत तोकिएको म्यादसम्म सत्यतथ्य बाहिर नल्याउनु र अहिलेसम्म हत्यारा सार्वजनिक हुन नसकेपछि पुनः दबावमुलक आन्दोलन शुरु भएको हो ।
उनीहरुले बजार क्षेत्रमा प्रदर्शन गर्दै केहीबेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्नासमेत दिए । ‘हामी निर्मलाका हत्यारा पक्राउ नपर्दासम्म दबावमुलक कार्यक्रम गरिरहने छौं,’ अधिकारकर्मी प्रीतिधीर भण्डारीले भनिन्, ‘यो आन्दोलन भनेकै निर्मलालाई न्याय दिनका लागि हो।’
नेपाल विद्यार्थी संघ कञ्चनपुरले समेत बिहीवारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेको छ । ‘निर्मलाका हत्यारा अहिलेसम्म सरकारले पक्राउ गरेको छैन्’ नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘सरकारलाई दबाव दिन कै लागि हाम्रो चरणबद्ध आन्दोलन शुरु भएको हो।’
उनले सरकारले तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने, दिलीपसिंह विष्टलाई फसाउन खोज्ने अनुसन्धान अधिकृत र आन्दोलनका क्रममा गोली हान्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सारेको बताए ।
साउन १० गते साथी रोशनीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको अर्को दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो ।