साविक विजेता विराटनगर समूह चरणबाटै बाहिरियो

| 2018 Dec 17 | 05:11 pm 1786

काठमाडौँ, पुस  २ :  साविक विजेता विराटनगर वारिवर्स टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटबाट बाहिरिएको छ ।कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं किंग्स–११ सँग ५ विकेटले पराजित हुँदै विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो ।

विराटनगरले दिएको एक सय एक रनको विजयी लक्ष्य काठमाडौंले १७.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । काठमाडौंका लागि केभिन ओब्रायनले अविजित ४५ रन बनाए । यस्तै प्रदीप साहुले अविजित २१ रन बनाएका थिए । बलिङमा विराटनगरका पारस खड्का र भानडेर मेर्वीले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्काको कप्तानी रहेको विराटनगर १७.५ ओभरमा सबै विकेट गुमाएर एक सय रनमा समेटिएको थियो ।

विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ रन बनाएका थिए । हरिबहादुर चौहानले २२ र कप्तान पारस खड्काले २१ रन बनाए । काठमाडौंका केभिन ओब्रायनले तीन विकेट लिए । बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले दुई दुई विकेट लिए ।

जितसँगै काठमाडौं दोस्रो चरणमा पुगेको छ । काठमाडौंले पाँच खेलबाट आठ अंक बनाएको छ । यस नतिजाले चितवन टाइगर्स प्ले अफमा पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.