काठमाडौँ २२ चैत / नेपाली कांग्रेस संसदीय बोर्डले इलाम–२ मा सिफारिस भएकाहरूलाई बोलाएर छलफल गरेको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा आकांक्षीहरूले जो उम्मेदवार भए पनि मिलेर जाने कुरा राखेका छन्
इलाम २ का लागि कांग्रेसबाट भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो।
कांग्रेसले आजै उम्मेदवारको टुंगो लगाउने गरी छलफल थालेको जनाएको छ । सो क्षेत्रमा कांग्रेसका सात जना उम्मेदवार सिफारिस भएका छन् । मंगलबार र बुधबार दुई दिनसम्म बसेको औपचारिक बैठक निष्कर्षविहीन भएको थियो ।
उम्मेदवार सिफारिस भएकाहरूले सभापति देउवासहित पदाधिकारीलाई सर्वसम्मतिमै एक जनालाई उम्मेदवार बनाउन आग्रह गरेका छन्। पार्टी एकढिक्का रहे मात्र चुनाव जित्न सहज हुने उनीहरूको भनाइ थियो।
बुधबारको बैठकमा सभापति इलाम-२ र बझाङ-१ को प्रदेश सभा १ को उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार प्रस्ताव गरेका थिए। सभापति देउवाले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्।
इलाम कांग्रेस सभापति खड्का देउवानिकट हुन्। उनलाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा उपसभापति पूर्णबहादुर खड्काको पनि समर्थन छ। तर महामन्त्री गगन थापा लगायतले इलाम २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।
बझाङ प्रदेश सभाका लागि देउवाले सिंहको नाम प्रस्ताव गरे पनि यो नाममा अरूले सहमति जनाएका छैनन्। वडाध्यक्ष हारेकोले उनलाई उम्मेदवार दिन नहुने नेताहरूको मत छ। महामन्त्री थापा लगायतले बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।