इयूको कालोसूचीबाट हटाउन सरकार संवेदनशील छः मन्त्री आले

| 2022 Jan 03 | 09:06 am 1125

काठमाडौँ पुस १९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई युरोपेली युनियन (इयू)को कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेस भएको भन्दै ती विधेयक छिट्टै पारित गराउने बताए। ‘राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौं,’ मन्त्री आलेले भने, ‘यी विषयमा सरकार संवेदनशील छ।’ मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको समेत जानकारी गराए।

मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पुर्‍याइएको बताए। ‘कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ, त्यसलाई पनि छिट्टै जारी गर्छौं,’ मन्त्री आलेले भने। उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि जानकारी गराए। यस समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उनले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा जोड दिए। उनले कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोज समेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गरे।

अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरुत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गरे। उनले बंगलादेशका लाखौं पर्यटक नेपाल भित्र्याउने गरी दुईपक्षीय सम्झौता गरेर अघि बढ्न पनि सरकारसँग आग्रह गरेका छन्।। आजको नागरिक दैनिक बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.