‘इन्सपेक्टर हुँ’ भन्दै हबल्दारको असुली धन्दा !

रिपोर्ट नेपाल | 2023 Apr 28 | 11:27 am 1209

धनुषा, बैशाख १५ः जनकपुरधाममा प्रहरी हबल्दारले आफूलाई ‘इन्सपेक्टर हुँ’ भन्दै तस्कर र व्यापारीसँग पैसा असुल्ने गरेको खुलासा भएको छ । नेपाल प्रहरीका हबल्दार एमपी राज महतो भनिने महेन्द्रप्रसाद महतोले आफूलाई प्रहरी इन्स्पेक्टरका रूपमा तस्कर र व्यापारी अगाडि चिनाउने गरेका हुन् । त्यति मात्र होइन हालसालै उनले आफूलाई डीएसपीसमेत भन्न भ्याएको जनकपुर गणका एक डीएसपीले सुनाउँदै थिए । धनुषा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भए पनि उनी लामो समयदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा काजमा कार्यरत छन् । खासमा जिल्ला प्रहरीमा पुगे हबल्दारको पोशाक लगाउनुपर्ने उनलाई डर छ ।

प्रहरी स्रोतका अनुसार महतोले हबल्दारमा बढुवा भएदेखि प्रहरीको ड्रेस लगाएका छैनन् । प्रहरीका हाकिमहरूसँग बाक्लो उठबस, फोटो सेसन अनि आईजी, एआईजी र डीआईजीसँग फोन गरेर अरूलाई देखाउने, तर्साउने अनि प्रभावित पार्ने काम पनि उनले गर्दै आएका छन् । उनी ७–८ वर्षदेखि संघीय प्रहरी कार्यालय जनकपुरमा बसेर सिभिलमा घुम्ने गरेका उनी १० वर्ष यता प्रहरीको ड्रेस नै नलगाएको बुझिएको छ ।

प्रहरीका ठूला हाकिमसँग बाक्लो उठबस गर्ने उनले प्रहरीका सिपाहीदेखि जुनियर अधिकृतसम्मलाई सरुवा बढुवा गराइदिन्छु र काज मिलाई दिने भन्दै गफ दिएरै पैसा उठाउने गरेका छन् । अझ आईजीपी बसन्त कुँवरका लागि पनि मधेशमा पैसा उठाउने जिम्मा आफ्नै भएको भन्दै उनले गफ चुट्ने गरेका छन् ।

गफ लगाउन माहिर मानिएका महतोले मधेश प्रदेशका वैध अवैध क्रसर उद्योग, जुवा अखडा तथा गाईगोरु तस्करहरूबाट मोटो रकम महिनावारी हाकिमका नाममा असुल्ने गरेको बताइन्छ । चर्चित गोरु तस्कर शम्भु सिंहदेखि महोत्तरीका ठूला क्रसर व्यवसायी विजय साह, बेतन शर्मासँग उनको पुरानो सम्बन्ध रहेको बताइन्छ ।

अझ विजय साहसँग त उनको पाटर्नरसीप विजनेश नै रहेको आशंका प्रहरीहरूले गर्ने गर्छन । हरेक साँझ विजयको जनकपुरधामस्थित डिपोमा उनको बसउठ हुने गरेको छ । एक जना प्रहरी भन्छन, ‘एमपी राजलाई तपाईँ प्रहरी कार्यालयमा कहिल्यै भेटनु हुन्न, त्यही डिपोमा गयो भने चाहिँ पक्का भेट हुन्छ ।’

करिब ९ लाख पर्ने रायल ईन्फिल्ड बाइक चढेर सानका साथ हिँड्ने, कार फेरि फेरि चढ्ने उनको आम्दानीको स्रोत के हो भनेर अन्य प्रहरीदेखि सर्वसाधारण पनि चकित हुने गरेका छन् । मूल घर सर्लाही भए पनि उनी जनकपुरधामको मुजेलियामा आलिशान तीन तले घरमा बस्ने गरेका छन् । तर त्यो घर खरिदको आर्थिक स्रोत के हो भन्ने जवाफ कसैसँग छैन् । हालसालै मात्र काठमाडौँमा पनि घडेरी जोडेका उनले अहिले आफूलाई प्रदेश डीआईजीको घुमुवाका रूपमा परिचय दिने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.