इन्भेस्टमेन्ट मेगा बैंकका नायब सीईओविरुद्ध महिलाको उजुरी

| 2023 Jul 19 | 06:53 am 1793

काठमाडौँ, साउन ३। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग ६५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरिरहेका महिला व्यवसायी शान्ता बुढाथोकीले बैंकविरुद्ध राष्ट्रिय महिला आयोगको कार्यालयलगायतमा उजुरी दर्ता गरेकी छन् ।

ताकिन्जो इन्डस्ट्रिज प्रालि-डाइमी ट्रेडिङ प्रालि, हामीनिट इन्डस्ट्रिजलगायतका कम्पनीको सञ्चालक रहेकी बुढाथोकीले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालविरुद्ध अभद्र व्यवहारसमेतको उजुरी दिएकी हुन् ।

नायब सिइओ शर्मा ढकालले आफूलाई अन्याय गरेकाले पक्राउ गरी आवश्यक कारबाही गर्न बुढाथोकीले उजुरीमा माग गरेकी छन् । सो बैंकबाट करिब ६५ करोड रुपैयाँबराबरको कारोबार गर्दै आएको र नेपाल इन्भेस्टमेन्ट बैंकबाट पहिलोपटक ८ करोड ७८ लाख ९५ हजार रुपैयाँको सामान निर्यात गर्ने प्रयोजनका लागि र सोपश्चात् ४ करोड स्थिर सम्पत्तिमा खरिद लगानी गर्ने प्रयोजनार्थ ऋण स्वीकृत भएको बुढाथोकीले जानकारी दिइन् ।

सो ऋण स्वीकृत भएपश्चात् नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जरको प्रक्रियामा रहेका कारणबाट कर्जा प्रवाह नभएको पनि उनले बताइन् । उल्लिखित दुवै बैंकहरू एक आपसमा मर्ज भएपश्चात् महेश शर्मा ढकाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएर आएपछि भेट गर्दा शर्माले सम्पर्कमा रहिरहन भनेको पनि उनले बताइन् ।

शर्माको विश्वासमा परी गत २९ चैतको दिउँसो २ बजेको समयमा निजको कार्यकक्षमा जाँदा कर्जा अब स्वीकृत हुँदै छ र त्यसका लागि मैले भनेको काम गर्नुपर्ने भनी अभद्र व्यवहार गरेको आरोप पनि उनले लगाइन् । व्यवसायी बुढाथोकीले भनिन्, ‘म बसेको ठाउँमा नजिक आई गलत मनसायले अभद्र व्यवहार गरेकाले किन यस्तो प्रकारको कार्य गर्न खोज्नुभएको हो ? यस्तो गलत कार्य नगर्नुहोस्, तपाईंजस्तो ओहदामा बसेको व्यक्तिले अनैतिक व्यवहार गर्न मिल्दैन भनेर भन्दा मैले भनेको नमानेमा तिम्रो काम हुँदैन, हामीसँग सम्पर्क नबढाएमा अर्थात् हामीले बोलाएको स्थानमा नआई, हामीले भनेको नमानेमा जे पनि हुन सक्छ भनी धम्कीपूर्ण भाषा प्रयोग गरी गाली गलौज गरे ।’

नायब सिइओ शर्माले अभद्र व्यवहार गरेको हुँदा पक्राउ गरी कानुनबमोजिम कारबाही गरी हदैसम्मको सजाय गरिपाऊँ भनी व्यवसायी शान्ता बुढाथोकीले उजुरी दिएकी हुन् ।

(राजधानीबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.