इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प, १३ सय को मृत्यु

| 2018 Oct 03 | 08:42 am 2098

जाकर्ता, असोज १७: इन्डोनेसियामा आएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या १ हजार ३४७ पुगेको अधिकारीहरुले जनाएका छन् । मृतकको यो संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरिएको छ । सोमबार यो संख्या ८४४ पुगेको बताइएको थियो ।

इन्डोनेसियाको मध्यवर्ती टापु सुलावेसीमा गत शुक्रबार ७.५ रेक्टरको विनाशकारी भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीले तटीय सहर पालुमा विध्वंस मच्चाएको छ । इन्डोनेसियाले मध्य सुलावेसीका लागि खाद्यपदार्थ, राहत सामग्री र ठूला उपकरणहरू जुटाउने प्रयास जारी राख्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ ।

राजधानी जकार्तामा रहेको परोपकारी संस्था सेभ द चिल्ड्रेनका लागि काम गर्ने सेलिना सुम्बुङ भन्छिन्, ‘तत्कालका लागि सरकारको प्राथमिकता भनेको हवाई, समुद्री र स्थल मार्गबाट पीडितसम्म पुग्न पहुँचको व्यवस्था गर्नु रहेको छ ।’

सो कामको नेतृत्व सेना र सार्वजनिक आवास तथा यातायात मन्त्रालयले गरिरहेको उनले बताएकी छन् । उनी भन्छिन्, ‘अर्को प्राथमिकता भनेको विद्युत् र पिउने पानीको आपूर्ति व्यवस्था गर्नु हो । सँगसँगै सञ्चार सम्पर्क सञ्जाललाई पनि सञ्चालनमा ल्याउनुपर्छ किनकि अहिले सूचना तथा जानकारी हासिल गर्न निकै नै अप्ठ्यारो छ ।’

उद्धारकर्मीहरूले पालु सहरमा भत्केका भवनको भग्नावशेषमा पुरिएका हुन सक्नेहरूको खोजी जारी राखेका छन् ।

यसैबीच इन्डोनेसियाको दक्षिणी तटीय क्षेत्रमा रहेको सुम्बा द्वीपमा मंगलबार बिहान दुईवटा भूकम्प गएको छ । मंगलबार बिहान सुम्बा द्वीपबाट करिब ४० किलोमिटर टाढा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पबाट स्थानीय प्रभावित बनेका छन् । सो द्वीपमा करिब ७ लाख ५० हजारको बसोबास रहेको छ । भूकम्पको करिब १५ मिनेटपछि सोही इलाकामा ३० किलोमिटर गहिराइमा ६ दशमलव ० रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको थियो । सुम्बा द्वीप सुलावेसी द्वीपबाट करिब १ हजार ६ सय किलोमिटर दक्षिणतर्फ पर्दछ ।

चर्चमा दर्जनौं विद्यार्थीको शव

यसैबीच, इन्डोनेसियाको सुलावेसी टापुमा आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौं विद्यार्थीको शव निकालिएको छ । पहिरोबाट प्रभावित चर्चमा फसेका विद्यार्थीको खोजीकार्य जारी राखिएको रेडक्रसले जानकारी दिएको छ ।

इन्डोनेसियाको रेडक्रसका प्रवक्ता आउलिया एर्रिआनीले सो चर्चको भग्नावशेषबाट करिब ३४ जना विद्यार्थीको शव निकालिएको बताएका छन् । भूकम्पपछि गएको पहिरोले प्रभावित सो चर्चमा ८६ विद्यार्थी बेपत्ता भएका छन् । इन्डोनेसियामा गत शुक्रबार आएको भूकम्प र त्यसपछिको सुनामीबाट प्रभावितमध्ये करिब २ लाख व्यक्तिलाई तत्काल सहयोगको आवश्यकता रहेको पनि एक समाचारमा जनाइएको छ । प्रभावितमध्ये ४६ हजार जना बालबालिका रहेका छन् भने अरू १४ हजार वृद्धवृद्धा रहेका छन् ।

यसै वर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढीको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९ दशमलव १ रेक्टर स्केलको भूकम्प र सुनामीका कारण १ लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.