इन्टेकमा थुप्रियो गेग्रान, अब वर्षा रोकिएपछि मात्रै उपत्यकामा आउँछ मेलम्चीको पानी

| 2023 Aug 23 | 06:08 am 577

काठमाडौँ, भदौ ६ । मेलम्चीको पानी उपत्यकामा वितरण अनिश्चित भएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा अविरल वर्षाका कारण माटोको लेदो र गेग्रान थुप्रिएपछि काठमाडौं उपत्यकामा पानी वितरण अनिश्चित बनेको हो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार दुई वर्ष अघिको बाढीपहिरोकै क्षेत्रबाट बगेको माटो, ढुंगा र लेदो माटोले हेडवर्क्स पुरिएको छ । पूर्ण रुपमा वर्षा नथामिएसम्म मर्मत गर्न नसक्ने अवस्ठा छ । बाढीपहिरोले सडक र गोरेटो बाटोबाट मुहान क्षेत्रमा पुग्न नसक्ने भएकाले यकिन विवरण भने प्राप्त गर्न नसकेको आयोजनाले जनाएको छ । हेडवर्क्स र इन्टेक क्षेत्रमा आयोजनाका कर्मचारी बस्न सक्ने अवस्था छैन । आयोजनाको संरचनाको हालको अवस्थाका विषयमा प्रारम्भिक सूचना लिन पनि कठिन भएको छ ।

२०७८ मा हेलम्बुको भेमाथाङबाट आएको बाढीपहिरोले क्षति गरेको हेडवर्क्सलाई गत हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी सुरुङमा पठाइएको थियो । वर्षातले सुरुङ पुरिने समस्या आकलन गर्दै दुई महिनाका लागि उपत्यकाको प्रणालीमा पानी पठाउन बन्द गरिएको थियो । आयोजनाका कार्यकारी निर्देशक कमल श्रेष्ठका अनुसार साता अघिको अविरल वर्षाले बगाएर ल्याएको गेग्रानले हेडवर्क्सको संरचनामा १५ फिटसम्म पुरिएको अनुमान छ । ‘गत वर्षको जस्तै यस पटक पनि हेडवर्क्स र इन्टेकलाई बाढीले ठूलो क्षति नगर्ने अपेक्षा गरे पनि त्यस्तो भएन,’ निर्देशक श्रेष्ठले भने, ‘गेग्रान थुप्रिएको प्रारम्भिक अनुमान छ ।’

मेलम्चीको पानी प्रवेश गराउने इन्टेकबाट २०७८ असारमा आएको पहिरोको सुरुविन्दु भेमाथाङ करिब २५ किमि छ । उक्त पुरै क्षेत्रमा पहिरो गइरहेकाले लेदो माटो र गेग्रान कुन स्थानबाट बगाएर ल्याएको हो यकिन गर्न नसकेको आयोजनाका अधिकारीहरुले बताएका छन् । आयोजनाको इन्टेक क्षेत्रको सूचना, फोटो र भिडियो लिन मेलम्ची समितिले मंगलबार केही कर्मचारी त्यता पठाएको छ । ‘सही सूचना आउन नसकेपछि हामीले कर्मचारी पठाएका छौं,’ आयोजनाका एक अधिकारीले भने, ‘त्यो ठाउँमा पुग्न सकेमा सूचना प्राप्त हुन सक्छ ।’

मेलम्चीको पानी २०७७ चैतमा पहिलो पटक उपत्यकामा पठाइएको भए पनि यसले निरन्तरता पाउन सकेको छैन । आयोजनाले अनुमान गरेभन्दा बढी परिमाणको गेग्रानले इन्टेकको सतह पुरिएकाले वर्षा रोकिने ग्यारेन्टी भएपछि मात्र उपत्यकामा पानी ल्याउन सकिने छ । यसका मर्मत गर्न मात्र कम्तिमा एक महिना लाग्ने आयोजनाले जनाएको छ । आयोजनाले दुई महिनापछि पानी सञ्चालन गर्नेगरी उपत्यकाको प्रणालीमा पठाउन बन्द गरेको थियो । अब फेरि उपत्यकालाई मेलम्चीको पानी पठाउन हतारिन नहुने प्राविधिक अनुमान छ ।

गत आवमा पनि आयोजनाले करिब ७ करोड खर्चेर इन्टेकको गेग्रान हटाएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले गत वर्ष मर्मतको क्रममा सुरुङको मुख नजिकै फ्लसिङ पाइप बिछ्याएर सहज बनाएको बताए । ‘इन्टेक पुरिन्छ भन्ने थाहा थियो । हामीले त्यही अनुसार डिजाइन गरेर मर्मत गरेको छोटो समयमै पानी सुरुङमा पठाउन सकिने संरचना बनाएका छौं,’ उनले भने ।

वर्षातमा सुरुङ बन्द गर्नुपर्ने भएपछि उपत्यकामा बर्सेनि ७-८ महिना मात्र पानी वितरण हुने देखिन्छ । यही अवस्थामा अब बर्सेनि पानी वितरण अस्थायी रुपमा मात्र हुने हो । बाढीपहिरो रोकिने सम्भावना नभएसम्म काठमाडौंमा स्थायी रुपमा पानी वितरण गर्न नसकिने कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । मेलम्ची अन्तर्गत आयोजना कार्यान्वयन इकाइले काठमाडौंमा मेलम्चीको पानी विरणका लागि पाइप लाइन बिछ्याउने र ट्यांकी निर्माणको काम गरिरहेको छ । पानीको वितरण भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) ले गरिरहेको छ ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठाडौंमा ल्याइएको थियो । सुन्दरीजलस्थित प्रशोधन केन्द्र, उपत्यकामा पाइप बिछ्याउने र रिजर्भ ट्यांकी निर्माण, सुरुङ, हेडवर्क्सलगायतका मेलम्चीको सबै संरचना निर्माणका लागि झण्डै ६५ अर्ब खर्च भइसकेको छ । तर आयोजनाबाट निरन्तर पानी काठमाडौं आउने ग्यारेन्टी भने भएको छैन । खासमा दुई वर्ष अघिको पहिरोका कारण इन्टेक नै उक्त स्थानमा कसरी बलियो बनाउने चुनौती थपिएको आयोजनाका कर्मचारी बताउँछन् । आयोजानको मुख्य ऋणदाता एसियाली विकास बैंक(एडीबी) हो । आयोजनाले पहिरोपछि क्यानेडियन प्राविधिकहरुको टोलीलाई पहिरो र इन्टेक क्षेत्रको अध्ययन गराएको छ ।

उक्त टोलीले हाल हेलम्बु गाउँपालिकाको अम्बाथानमा रहेको इन्टेकको सुरक्षा चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ । आयोजनाको २६ किमि सुरुङबाट हाल दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउन सक्ने स्रोत छ । दोस्रो चरणमा निर्माण हुने स्थानीय याङ्ग्री र लार्के खोलाबाट १७–१७ करोड पानी थपेर दैनिक ५१ करोड काठमाडौं ल्याउने योजना छ । तर पहिलो चरणको योजना अन्तर्गतको मुहान क्षेत्र नै असुरक्षित भएकाले दोस्रो योजना सञ्चालनमा पनि पर्ख र हेरको अवस्था रहेको आयोजनाका अधिकारीहरु बताउँछन् ।

(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.