इन्टरनेट सेवा शुल्क कम गर्छौं -सञ्चार मन्त्री

रिपोर्ट नेपाल | 2018 Jun 26 | 06:26 pm 3581

काठमाडौँ, १२ असार : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन् ।

विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने बताए ।

आपत्कालीन अवस्थामा सूचना तथा सञ्चार क्षेत्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बाँस्कोटाले जोखिमका समयमा सूचना व्यवस्थापनमा मन्त्रालय सदैव तयार रहन्छ  । सूचना तथा सञ्चार प्रविधि अध्ययन गर्ने विद्यार्थीका लागि जागिर उपलब्ध गराउने विषयमा सरकार गम्भीर भएको पनि उहाँले जनकारी दिए।  निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई कर तिराउने सन्दर्भमा सञ्चारमन्त्री बाँस्कोटाले भने, “एनसेललाई नेपाल सरकारले कुनै पनि उन्मुक्ति दिएको छैन र दिँदैन, म यो विश्वास दिलाउन चाहन्छु ।”

नेपाल टेलिकमको विकास गर्न, यसको सेवा गुणस्तरीय बनाउन र देशका सबै भूभागमा टेलिकमको सेवा विस्तार गर्न र पूर्वाधार बनाउन सरकार तत्पर रहेको बताए । उनले आगामी आवमा ७३८ नयाँ टावर थप्न लागिएका जानकारी दिँदै त्यसपछि टेलिकम सेवा नपुगेका स्थानमा पनि सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । मन्त्री बास्कोटाले भने, “दुई वर्षभित्र सबै स्थानीय तहमा टेलिकमको सेवा पुग्छ । सार्वजनिक सूचना केन्द्र पनि पुग्नेछ ।”

“लोककल्याणकारी विज्ञापन पत्रकारिता क्षेत्रभन्दा बाहिरका संस्थालाई उपलब्ध गराइएको छैन र मूल्याङ्कनमा मन्त्रालयले कुनै आग्रह र पूर्वाग्रह पनि गरेको छैन,” उनले भने ।  विद्युतीय सञ्चारमाध्यमलाई विज्ञापन उपलब्ध गराउने पहिलेदेखिकै प्रचलन भएकाले त्यसलाई अहिले नै हटाउन सकिने स्थिति नरहेको बताउँदै भन्दै मन्त्री बाँस्कोटाले विज्ञापनका लागि उपलब्ध गराइने रकमको दुरुपयोग हुन नहुने स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.