धनगढी, साउन ३२ । इन्टरनेट प्रदायक कम्पनीको लापरवाहीका कारण एक युवकको ज्यान गएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडकखण्ड बिहानैदेखि अवरुद्ध पारिएको छ ।
बुधबार साँझ इन्टरनेटको तार टाउकोमा लागेर स्थानीय दिनेश ओडको मृत्यु भएको बताइएको छ । आज बिहीबार बिहानैदेखि आफन्त र स्थानीयले प्रदर्शन गर्दै सडक चक्काजाम गरेका हुन् ।
उनीहरूले भीमदत्त नगरपालिका–५ सुकासालमा अन्तर्गतको सडकमा ढुङ्गा राख्दै टायर बालेर चक्काजाम गरेका छन् । स्थानीय विशाल कुमार तिरुवाले जथाभाबी विद्युत् तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको बताए ।
सडक खण्ड अवरुद्ध हुँदा आवतजावत गर्ने यात्रुहरुलाई सास्ती भएको जनाइएको छ ।