आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्छुः सभामुख सापकाेटा

रिपोर्ट नेपाल | 2021 May 28 | 07:29 am 1553

काठमाडाैं, जेठ १४ः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताएका छन् । संसद् विघटनको विषयमा सभामुख सापकोटाले नयाँ वानेश्वरस्थित संसद् भवनमा संविधानविद्हरूसँग परामर्श गरेपछि आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्ने बताएका हुन् ।

उनले जनताले ३ सय ३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसद्को सभामुखको हैसियतले आवश्यक परे उक्त अधिकार आफूले प्रयोग गर्ने बताए । ‘संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार म चल्नुपर्छ । संघीय संसद्को नेतृत्व गरेको र प्रतिनिधिसभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ ।’ –उनले भने ।

सभामुख सापकोटाले संविधानमा सबै कुरा लेखिएको नहुने जिकिर गर्दै संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकाले त्यसलाई केन्द्रबिन्दुमा राखेर आफू अगाडि बढ्ने बताए । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले अरूलेभन्दा धेरै संविधानको पालना गर्नुपर्नेमा उनको जोड थियो ।

सभामुखसँगको परामर्शमा संविधानविद्हरूले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् मात्र नभई संविधान नै मास्ने गरी कदम चालेको बताउँदै सर्वोच्चमा बहुमत सांसद रिट लिएर गइसकेको अवस्थामा सभामुखलाई संसद् बैठक बोलाउने अधिकार नभएको सुझाव दिएका छन् ।

संविधानविद् भीमार्जुन आचार्यले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संविधान र राष्ट्रमाथि सबैभन्दा ठूलो अपराध गरेको बताए । उनले राज्यका सर्वोच्च निकायमा बसेका पदाधिकारीले संविधानमाथिको यो खालको खेलवाड गर्नु भनेको मान्छे मारेको भन्दा पनि ठूलो अपराध हुने बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.