आलोचनापछि दशैंभत्ता फर्काउँदै सांसद

| 2020 Oct 20 | 08:53 am 2196

काठमाडौं, कात्तिक ४ः कोरोना संक्रमणबाट देश आक्रान्त बनेका बेला दसैभत्ता लिएको भनी आलोचना बढेपछि केही सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ताको घोषणा गरेका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेससमेत सत्तारूढ नेकपाले संस्थागत रूपमै भत्ता फिर्ता गर्ने निर्णय गरेका छन्।

सोमबारसम्ममा नौजना सांसदले भत्ता फिर्ताका लागि प्रक्रिया सुरु गरेको संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेसका गगन थापा र नेकपाका गोकर्ण बिष्टले भत्ता रकम नै फिर्ता गरेका छन् भने नेकपाका भीमबहादुर रावल, कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, कांग्रेसका नारायण खड्का, नेकपाका सोमप्रसाद पाण्डे, प्रभु शाह र सूर्यप्रसाद पाठकले रकम फिर्ता गर्न पत्र पठाएका छन्।

संसद् सचिवालयले संघीय संसद्का पदाधिकारी, सांसद तथा उनीहरूका सल्लाहकार र स्वकीय सचिवलाई दशैं भत्ताबापत भन्दै रकम उनीहरूका बैंकखातामा पठाएको थियो।

संसद्का पदाधिकारी तथा सांसद गरी ३ सय ५ जना र स्वकीय सचिवालयका कर्मचारी ४ सय २५ जनालाई दशैंभत्ता बापत तीन करोड ३० लाख ४१ हजार ३ सय ६० रूपैयाँ पठाएको संसद् सचिवालयले जनाएको छ।

यसरी जनप्रतिनिधिले पर्वभत्ता लिएपछि त्यसको चर्को विरोध भयो। त्यसपछि केही सांसदले आइतबारै भत्ता फिर्ता गर्ने निर्णय गरे भने केहीले सोमबार भत्ता फिर्ताको घोषणा गरेका छन्। संघीय संसद सचिवालयले मन्त्रिपरिषद्ले गत वर्ष गरेको निर्णयका आधारमा सभामुखदेखि सांसदसम्मलाई दसैंभत्ता उपलब्ध गराएको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सबै सांसदको दशैंभत्ता फिर्ता गराएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंभत्ता फिर्ता गर्न पार्टीका सांसदलाई निर्देशन दिएका थिए। उक्त दलका सांसदले दशैंभत्ताबापत पाएको ४३ लाख २८ हजार २ सय १० रूपैयाँ सरकारको कोरोना उपचार कोषमा पठाइने संसद् सचिवालयले जनाएको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दशैंभत्ता वितरण गर्ने सरकारको निर्णय असान्दर्भिक र अनुचित भएको जनाएका छन्।

कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसद् सदस्यलाई उपलब्ध गराइएको दशैंभत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गरेको खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सत्तारुढ नेकपाले पनि दशैंभत्ता फिर्ता गर्ने निर्णय गरेको छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.