काठमाडाैँ, कात्तिक ३० : रौतहट राजपुर बम काण्डका मुख्य अभियुक्त अफताव आलम कारागार चलान भएका छन् । जिल्ला अदालत राैतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै नेपाली कांग्रेसका निलम्बित सांसद आलम ललितपुरको नख्खु कारगारमा ल्याइएका हुन् ।
आलमलाई जिल्लामा राख्नसमेत जोखिम देखिएपछि अदालतले थुनामा राख्न आदेश दिएकै दिन शुक्रबार राति राैतहटबाट ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो ।
स्रोतका अनुसार डिल्लीबजार सदरखोर आउने आलमको चाहना भए पनि गृह मन्त्रालयले सहमति नदिएपछि उनलाई नख्खु कारागार ल्याइएको हो ।
१२ वर्षअघि पहिलो संविधानसभा चुनावको बुथ कब्जा गर्न निर्माण गरिएको बम बनाउने क्रममा विष्फोट भएर घाइते भएकाहरुलाई इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथि रहेको छ ।
रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा चारदिन लामो थुनछेक बहसपछि शुक्रबार पछि ठहरेबमोजिम हुनेगरी हाल पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।