आर्मी नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन

| 2022 Oct 21 | 07:16 am 1393

कास्की, कात्तिक ४ः विभागीय त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन बनेको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा यसअघिको दुई संस्करणको च्याम्पियन आर्मीले सर्वाधिक ३ सय ७१ पदक जित्दै समग्रमा टिम च्याम्पियन बन्दै रनिङ सिल्ड जित्न सफल भएको हो । आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलोपटक यसै राष्ट्रिय खेलकुदमार्फत च्याम्पियनसिप ट्रफी प्रदान गर्दै छ । ट्रफी १० लाख रुपैयाँमा तयार भएको राखेपले यसअघि नै जानकारी दिइसकेको छ ।

आफूले सहभागिता जनाएको हरेक स्पर्धामा दबदबा कायम गरेको आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कांस्य गरी कुल ३ सय ७१ पदक जित्न सफल भयो । आर्मीले टिम इभेन्ट्सको मुख्य स्पर्धा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, पुरुष बास्केटबल र पुरुष ह्यान्डबलमा उपाधिको दाबेदारका रूपमा हेरिए पनि स्वर्ण भने जित्न सकेन । पछिल्लो दुई संस्करणजस्तै शीर्ष ३ मा विभागीय टोली नै रहे । त्यसअघि राष्ट्रिय खेलकुदको सुरुवाती तीन संस्करण बाग्मती अञ्चल र चौथोदेखि छैटौंसम्म मध्यमाञ्चल च्याम्पियन बनेको थियो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.