आर्थिक लेनदेनको विवादमा अपहरण, छ जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Jul 27 | 07:21 am 1337

दाङ, साउन ११ः तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय केशव कुमार विकलाई अपहरण गरेर ७ लाख मागेको आरोपमा उनीहरू समातिएका हुन् ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ वर्षीय लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी २६ वर्षीया निर्मला विक, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी २५ वर्षीय सुकलाल विक, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ९ निवासी २० वर्षीय मनोज थारु र गाडी चालक प्युठान जिल्ला घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने २४ वर्षीय जनक कुँवर रहेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रहरीले अपहरणमा संलग्न बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । व्यक्ति अपहरणमा उक्त गाडी प्रयोग भएको हुँदा गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूले विकको अपहरणका लागि निर्मलालाई प्रयोग गरेको प्रहरीको भनाई छ  । सुनियोजित रुपमा दैलेख घर भएका केशवलाई बुटवलमा भेट्न बोलाउनका लागि उक्त समूहले निर्मलालाई प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख काफ्लेले बताए ।

‘केशवलाई सोमबार ९ बजे बुटवल बोलाएर, त्यहाँबाट दाङ ल्याएर तुलसीपुरको सल्यान रोड स्थित युवम होटेलमा बन्धक बनाएर राखेर दैलेखमा रहेकी केशवकी श्रीमतीलाई फोन गरेर पैसा माग्ने गरेको भन्ने सूचना प्रहरीले प्राप्त गरेपछि प्रहरी खोजी कार्यमा जुटेको थियो’,प्रहरी प्रमुख काफ्लेले भने,‘ अनुसन्धानका क्रममा प्रहरीले साँझ उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।’

प्रहरी प्रमुख काफ्लेका अनुसार केशवकी श्रीमतीले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई फोन गरेपछि डिएसपी श्यामु अर्यालको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उनीहरूलाई मंगलबार साँझ नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा पक्राउका परेका मध्ये सुकलाल, मनोज र केशव साउदीमा सँगै बसेको र लेनदेनको कुरा भएकाले त्यो नमिलेपछि अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी प्रमुख काफ्लेले बताए। विदेशमा रहेको हिसाब मिलाउनका लागि सुकलाल र मनोजले केशवलाई अपहरणको योजना बनाएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.