आयल निगमका कार्यकारी निर्देशक खड्काद्‍वारा राजीनामा

रिपोर्ट नेपाल | 2018 Jun 07 | 11:37 am 991

काठमाडौं, जेठ २४: नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।

विभिन्‍न देशी तथा विदेशी शक्तिले स्वतन्त्र रुपमा काम गर्न नदिएको गुनासो गर्दै बिहीबार पत्रकार सम्मेलनमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

‘देशी विदेशी शक्तिले केही मिडियालाई प्रयोग गरेर मलाई काम गर्न दिएनन्,’ उनले भने, ‘राम्रो काम गर्न खोज्दा पनि काम गर्न दिएनन् ।’

पत्रकार सम्मेलनमा बोल्दै खड्काले आफूलाई आयल निगमबाट मन्त्रालय तानेर नौ महिनासम्म कामविहीन बनाएर राखेको आरोप लगाए ।

यसअघि, इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले गत कार्तिकमा मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको थियो ।

२०७२ माघमा आयल निगमको कार्यकारी निर्देशकको पदमा नियुक्त भएपछि तीन वर्षको अवधिमा आफ्नो पदीय जिम्मेवारी कानूनसम्मत रुपमा देशवासीको सेवा गरेको खड्काको दाबी थियो ।

‘पाँच वर्षमा सक्ने पेट्रोलियम भण्डारणको काम अघि बढाएको थिएँ,’ उनले भने, ‘राम्रो काम गर्दा पनि थन्काएर राखे ।’  राजीनामा पत्र पढेर सुनाउँदै उनले आफ्नो ६ महिना अवधि बाँकी भए पनि मन्त्रीलाई राजीनामा बुझाउन लागेको बताए ।

अनियमितताको आरोपमा मन्त्रिपरिषद् निर्णयबाट बर्खास्तीमा परेका खड्का अदालतका आदेश पछि निगममा हाजिर भएका थिए।  संसदीय समिति र मन्त्रालयले दोषी ठहराएका खड्कालाई मन्त्रालय तान्ने सचिवको प्रस्तावलाई आपूर्ति मन्त्रीले सदर गरेका थिए ।

खड्कालाई निगममै राखिराख्दा थप क्षती हुने भन्दै सरकारले मन्त्रालय तान्नको लागि निर्वाचन आयोगबाट अनुमति लिएका थिए ।

संसदीय समितिहरुले खड्काले अनियमितता गरेको भन्दै कारबाही गर्न सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री मण्डल, सचिव देवकोटाको पहलमा खड्का बर्खास्ती भएका थिए । स्पष्टिकरण नसोधि मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेका खड्का सर्वोच्चको आदेश पछि निगममा हाजिर भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.