काठमाडौं, चैत २४ (एजेन्सी) : अचेलका युवा तथा किशोर–किशोरीहरुमाझ प्रिय बन्दै गएको भर्चुअल खेल पबजीका कारण भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् ।
पबजीको लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको आफ्नै घरमा रहेको ‘सिलिङ फ्यान’मा झुण्डेर आत्महत्या गरेका हुन् ।
१६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (PUBG) प्रतिबन्ध लगाउन माग गरेका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् ।
किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ । अधिकांश भारतीय अभिभावकहरु आफ्नो सन्ततिको भविष्यलाई लिएर निकै चिन्तित हुन्छन् । उनीहरु आफ्ना सन्ततिको शिक्षासम्बन्धी क्षेत्रमा ध्यान केन्द्रित गर्न वयस्कमा पनि उनीहरुकै साथ रहने गर्दछन् ।
पबजीलाई प्रतिबन्ध लगाउनपर्छ भनेर समर्थन गर्नेहरु यो एक घातक खेल भएको स्वीकार्छन् । गएको मार्चमा महाराष्ट्र राज्यको रेलको लिक छेउमा बसेर पब्जी खेल्दै गर्दा विपरीत दिशाबाट आएको ट्रेनले धक्का दिँदा दुई पुरुषले ज्यान गुमाएको भारतको समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डियाले बताएको छ ।
यसअघि पनि भारतको विभिन्न शहरका पबजीका कारण ज्यान गएको थियो । मध्य भारतीय राज्य गुजरातको केही शहरमा यस खेलमाथि नै प्रतिबन्ध लगाइएको छ । धेरै विद्यार्थीहरुलाइै हिंस्रक र स्कुल जानबाट विमुख गरेको भन्दै पबजीलाई प्रतिबन्ध लगाइएको थियो । त्यसपछि गुजरातका दर्जनौँ युवालाई प्रतिबन्धको उल्लंघन गरेको भन्दै गिरफ्तार गरिएको छ ।