आमाको जन्मोत्सव मनाउन पूर्वराजा थाइल्यान्डबाट फर्कंदै

| 2018 Aug 17 | 09:01 am 3600

काठमाडौं, भदौ १: पूर्वराजा ज्ञानेन्द्र शाह झन्डै दुई साता लामो विदेश बसाइपछि शुक्रबार स्वदेश फर्कने भएका छन्। स्वास्थ्य जाँचका लागि पत्नी कोमल, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनीहरु कृतिका, पूर्णिका र सहयोगीका साथ थाइल्यान्ड गएका उनी शुक्रबार दिउँसो फर्कने निकटको स्रोतले जानकारी दियो।

भदौ ४ मा पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्नराज्यलक्ष्मी देवी शाहको ९१औं जन्मदिन मनाउने तयारी भइरहेको छ। उनको जन्मदिन नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलमा मनाउने तयारी छ। रत्न नारायणहिटीभित्र बस्दै आएकी छन्। आमाको जन्मदिन पारेर शाहले छोरा पारस र बुहारी हिमानीको मिलन गराउने हुन् होइनन्, चासोको विषय छ। पारस नेपालमा बसे पनि परिवारबाट टाढा छन्। उनी परिवारसँग नजिकिन चाहे पनि गलत आचरणका कारण पूर्वराजा ज्ञानेन्द्रले नै रोकेको बुझिएको छ। पछिल्लो समय पारसले मन्दिरहरु घुम्दै आफू सुध्रिएको सन्देश दिन खोजिरहेका छन्। पारसनिकटकाले हिमानीसँग उनको सम्बन्ध सुमधुर बनाउन पहल गर्दै आएका छन्। तर त्यो सार्थक हुन सकेको छैन।

पारस लागूऔषधको कुलतमा फस्नुका साथै थाई महिला कन्निका च्याइसरनसँग ‘लिभिङ टुगेदर’ का रुपमा बैंककमा बसेका थिए । दुवैबीच सम्बन्ध टुटेपछि पारस स्वदेश फर्किएका थिए। पूर्वप्रेमिका कन्निकाले फेसबुकमा पारस र आफ्ना तस्बिर बेलाबेलामा सार्वजनिक गर्दै आएकी छिन्। विवादमा आइरहने पारस दुई महिनाअगाडि सडकमा जथाभावी कार गुडाएर पुनः विवादमा परेका थिए। छोराको यिनै गतिविधिका कारण ज्ञानेन्द्र शाह उनीप्रति रुष्ट भएको बुझिएको छ।

शाह २३ असारमा आफ्नो जन्मदिन मनाउन नेपालगन्ज पुगेका थिए। त्यहाँ उनले समर्थकसँग भेटघाटसमेत गरेका थिए। मुटुमा समस्या देखिएपछि उनले बेलाबेलामा चेकजाँच गर्न विदेशयात्रा गर्दै आएका छन्। तर यसमा उनको राजनीतिक उद्देश्य निहित रहेको भन्दै प्रमुख दलका नेताहरुले चासो देखाउन थालेका छन्।

पछिल्लो समय उनले राजावादीको उपस्थिति रहेको नेपालगन्ज, वीरगन्ज, जनकपुर, विराटनगरलगायतका सहरमा भ्रमण गर्दै आएका छन्। उनले बेलाबेलामा वक्तव्य दिएर राजनीतिमा तरंग ल्याउने गरेका छन्। नेपाल फर्किएपछि पूर्वराजाले दसैंअगाबै काठमाडौंबाहिरका जिल्लाको भ्रमण गरी तीर्थस्थलको समेत दर्शन गर्ने योजना बनाएको निकटस्थहरूले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.