- बसन्त भुजेल
राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा भनेका छन्–‘ विदेशी व्यपारीलाई स्वदेश छिर्न नदिनु, उनीहरुले मुलुकलाई कंगाल बनाउन्या छन्, स्वदेशी व्यपारीलाई प्रोत्साहन गर्नु , उनीहरुले प्रजालाई मोटा बनाउन्या छन्, प्रजा मोटा भया मुलुक सप्रन्छ ।’ राष्ट्र निर्माता शाह कतिसम्म्म दूरदर्शी रहेछन् ? भन्ने यर्थाथ बुझ्न दुई वटा उदाहरण हेरे पुग्छ ।
उदाहरण नं १
लमजुङको दुर्गम गाउँका शेष घले तीन दशक अघि अष्ट्रेलिया जाँदा उनको साथमा आफ्नी आमाले दिएको पछ्यौरा मात्रै थियो । तिनै घले आज अष्ट्रेलियाका एक सय जना धनाढ्यको सूचिमा छन् । अष्ट्रेलियामा कमाएको सम्पत्तिले उनले नारायणहिटी राजदरवार एवम् हालको संग्राहलयको पश्चिम गेट अगाडी ठूलो टावर बनाएका छन् । करिव १४ अर्ब लगानीमा निर्माणाधिन उक्त टावर सम्भवत नेपालको सबै भन्दा ठूलो भवन हो । यो भवनले नेपालको प्रतिष्ठा बढाएको छ । त्यसो त भूकम्पले थिलो थिलो भएको गोर्खाको लाप्राक गाउँको करिव ५ सय घर धुरीको सुन्दर ढाँचामा पुननिर्माण गरी घलेले मुलुकका लागि नयाँ पर्यटकीय गन्तब्य थपिदिएका छन् । यस बाहेक , जलस्रोत तथा बैंकिङ क्षेत्रमा लगानी गरी उनले धेरै नेपालीलाई रोजगारी सिर्जना गरिदिएका छन् ।
उदाहरण नं २
विनोद चौधरीका बाजे भारतको राजस्थानबाट एक पोको साडीका कपडा र एउटा लोटा लिएर राणाकालमा नेपाल छिरेका थिए । यतिबेला विनोद चौधरीको नाम विश्वका अर्वपतिहरुको सूचिको माथिल्लै लाइनमा छ । विश्वका करिव ५५ देशमा चौधरीको लगानी छ । यति ठूलो कमाई चौधरीको परिवारले नेपालबाटै गरेको हो । चौधरीको कुलसम्पत्ति मध्ये ९५ प्रतिशत नेपालबाट बाहिरीइ सकेको छ ।
तर नेपालका मिडियाहरुको प्रस्तुती तथा राजनीतिकदलहरुको क्रियाकलाप हेर्दा ताजुव लाग्छ । मुलुकलाई खोक्र्याएर विदेश पुँजी पलायत गराउने विनोद चौधरीको मिडियामा सँधै हाई हाई छ । मुलुकका नीति निर्माता मात्रै होइन राजनीतिक दल नै खरिद गरेका छन् उनले । जुन पार्टीबाट चाह्यो त्यही पार्टीबाट सांसद बनेर मुलुकको नीति निर्माण गर्ने हैसियतमा उनी छन् । यता शेष घले भने गुमनाम छन् । विदेशमा कमाएको रकम नेपालमा लगानी गरी अझ धेरैलाई रोजगारी दिन उनी चाहन्छन् तर कानुनी उल्झनका कारण उनले सकिरहेका छैनन् । त्यसो त नेपालबाट एक रुपैंया पनि नलिई विदेश गएका उपेन्द्र महतो, जीवा लामिछाने लगायतका युवाहरु यतिबेला अन्तर्राष्ट्रिय जगतकै धनाढ्य बनेका छन् । शेष घलेले जस्तै उनीहरुले विदेशमा कमाएको रकमले स्वदेश समृद्ध गर्न खोजेका छन् , तर सरकारको नीति उनीहरु मैत्री छैन । भारतबाट आएका मारवाडीहरुले मुलुकको आर्थिक नीति तथा ऐन बनाउने मामिलामा एकाधिकार प्राप्त गरिसकेका छन् । जसका कारण स्वदेशी व्यवसायीहरुले चाहेर पनि आफ्नो मुलुकमा लगानी गर्न सक्ने अवस्था छैन । पृथ्वीनारायण शाहको दिव्योपदेश ठीक उल्टो कार्यान्वयन भएको छ ।
आर्थिक मापदण्ड मानिने उद्योग तथा व्यपारको क्षेत्रमा मात्रै होइन , प्राविधिक तथा बौद्धिक क्षेत्रमा पनि मुलुकको यस्तै हालत भएको छ । नेपाली प्राविधिक तथा वौद्धिकहरुले विदेशमा गएर धेरै उन्नती गरेका छन् । कतिपय देशको नीति निर्माण समेत नेपाली वुद्धीजीविहरुले नै गरेका छन् । तर स्वदेशमा भने उनीहरुको स्थान छैन । नेपालको नीति निर्माण विदेशी बुद्धीजीविहरुले आफ्नो स्वार्थका लागि गरिरहेका छन् । मलुक अधोगतिमा जानुको मुख्य कारण यही हो ।
पहिलो संविधानसभा निर्वाचनका बेला संयुक्त राष्ट्रसंघीय अभिसन्धीको धारा आर्टिकल –२९ को हवला दिँदै जातीय राज्यको माग तिब्र रुपमा अघि बढ्दै जाँदा डा. पूर्णकान्त अधिकारीले उक्त धाराको ड्राफ्ट नै आफूले गरेको उल्लेख गर्दै एक राष्ट्रिय दैनिकमा लेखेका थिए –‘ त्यतिबेला हामी युनकोतर्फबाट उत्तर अमेरिका , दक्षिण अमेरिका , अफ्रिका तथा अष्ट्रेलियाका विभिन्न ठाउँमा भ्रमणमा गएका थियौं , तर त्यहाँका आदीवासीका जिविकोपार्जनका स्रोतहरु आप्रवासीहरुले खोसेको पायौं । आदीवासीहरुको जनजीवन झन् झन् कष्टकर बन्दै गएको कुरा मैले उठाएँ । यस पछि युएनको तर्फबाट आदिवासीका अधिकार सुरक्षा संवन्धी बुँदाहरुको ड्राफ्ट गर्ने जिम्मा मैले नै पाएँ । त्यस हिसावले आर्टिकल –२९ को ड्राफ्ट मेरै हातबाट भएको हो भन्दा हुन्छ ।’
आखिर यति महत्वपूर्ण प्रावधानको उत्पत्ति तथा ड्राफ्ट गरेका नेपालकै बुद्धीजीविले रहेछ । तर नेपालका सन्दर्भमा भने आदीवासी जनजातिका समस्या यथावत छन् र यिनै समस्यालाई लिएर डलरको खेति भइरहेको छ । आदीवासी जनजातिका नाममा नेवार र चेपाङलाई एउटै टोकरीमा राखेर नीति निर्माण गरिएको छ । गडवड यहीँ भएको छ । मुलप्रवाहमा नआएकाहरुलाई आरक्षण दिनु राम्रो हो , तर आरक्षणका नाममा चेपाङले नेवार सँग प्रतिस्पर्धा गर्नु पर्ने , मधेसीले मारवाडीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सिर्जना गरियो । आज जनजातिका नाममा छुट्याइएको आरक्षणमा नेवारको मस्ती छ । मधेसीका नाममा छुट्याइएको आरक्षणमा मारवाडीहरुको रजाँइ छ , महिलाका नाममा छुटयाएको आरक्षणमा राणा, मारवाडी र दलका ठूला नेताहरुका श्रीमती, बहिनी , साली , छोरी , बुहारीहरु भरिएका छन् । मुलुकको नीति निर्माणमा विदेशी बुद्धीजीविको सहयोग लिँदाको परिणाम हो यो । किनकी आदीवासी जनजाति भित्रको वास्तविकता के छ ? मधेसी समुदाय भित्रको धरातलीय यर्थाथता के हो ? महीला वर्ग मुल प्रवाहमा आउन नसक्नुको समाजिक बस्तु स्थिति के हो ? भन्ने कुरा स्वदेशी बुद्धीजीविहरुको तुलनामा विदेशी वुद्धीजीविहरुलाई थाहा हुने कुरै भएन । दलीत भित्रको वास्तविकता पनि थाहा हुने कुरै भएन । सुनको काम गर्ने र फलामको काम गर्ने दलित बीचको जमिन आसमानको आर्थिक विषमता विदेशी वुद्धीजिविहरुलाई के थाहा ? तर एउटै टोकरीमा राखेर आरक्षण दिँइदा सुनको काम गर्ने दलितहरु सँग अरु दलितले प्रतिस्पर्धा गर्न सकेनन् । मुगुको ठकुरी र नारायणहिटी भित्रको ठकुरी वीचको विषमता पनि विदेशी वुद्धीजीविहरुले बुझ्ने कुरा भएन । हुम्लाको कुँवर र काठमाडौंका राणालाई एउटै बास्केटमा हालेर शासक वर्गको सुचिमा राखियो । विराटनगरका कोइराला र दार्चुलाका भण्डारीलाई आवसर पाउनेहरुको एउटै सूचि बनाएर राखियो । के कारणले यस्तो भयो ? यो कारण पत्ता नलगाई रोगको निधान सम्भव छैन । स्वदेशी बुद्धीजिवीलाई विदेश पलायन हुन वाध्य पार्ने र मुलुकको नीति निर्माणमा विदेशी वुद्धीजिविहरुलाई हायर गर्ने परम्पराका कारण यो अवस्था सिर्जना भएको हो । जरो कुरा यही हो ।
सधै एउटै बंश र परिवारले शासन गरेकै कारण मुलुकपछि परेको हो कि ? भन्दै राणा शासन फालियो , राजा फालियो । विकल्पका रुपमा राजनीतिक दलहरु सत्तामा आए । तर राजनीतिक दलको नेतृत्व तहमा बंशबाद र परिवारवादले झन् ठूलो जरो गाड्यो । २०४४ सालदेखि पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्ड निरन्तर छन् । उनले आफ्नै छोरी , बुहारी , ज्वाँइ , सम्धी बाहेक अन्यत्र देख्न सकेका छैनन् । हालै उपप्रधानमन्त्री इश्वर पोखरेलले आफ्ना सम्धी र भान्जिलाई उच्च तहको राजनीतिक नियुक्ति दिलाएको समाचार आयो । समाचारमा जनाइए अनुसार उनका सम्धी उपेन्द्र कोइरालाले २०५१ सालमा एमालेको सरकार बने यता सात पटक महत्वपूर्ण राजनीतिक नियुक्ति पाएका रहेछन् । यता नेपाली कांग्रेसको अवस्था पनि त्यही छ । कोइरालाहरुले बंश तथा परिवारवाद कायम गरे भन्दै शेरबहादुर देउवा सभापति बने । तर अवसर दिने बेलामा देउवाको पहिलो रोजाई श्रीमती आरजु राणा भइन् , दोस्रो रोजाईमा सासु प्रतिभा राणा परिन । यतिसम्मकी आफ्नो पार्टीको कोटामा परेको राजदूत पद राप्रपालाई हस्तान्तरण गरेर देउवाले सासु प्रतिभा राणालाई जापानका लागि राजदूत बनाए । आखिर राजतन्त्र र गणतन्त्रमा के फरक भयो त ? एउटा राजाका ठाउँमा धेरै राजा हुनु बाहेक जनताले खासै फरक महसुस गरेका छैनन् ।
दलीय राजनीतिमा समेत परिवारवाद र बंशबाद फष्टाउनुको मुख्य कारण बुद्धीजिविहरुले हस्तक्षेप गर्न नसक्नु हो । एकथरी बुद्धीजिविहरु टिक्नै नसकेर विदेश पलायन भएका छन् । अर्काथरी बुद्धीजीविहरु शासक वर्गका भाट बनेर आफ्नो स्वार्थ सिद्धीमा लिप्त छन् । केही वुद्धीजिवहरुले कुरा उठाएका पनि छन् तर मिडियामा उनीहरुले स्थान नपाउने भएकोले जनतासम्म कुरा नै पुग्दैन । किनकी मिडिया समेत यही तप्काको नियन्त्रणमा छ । किनकी विनोद चौधरीहरुले विज्ञापन दिन्छन्, शेष घलेहरुले विज्ञापनमा रकम खर्च गर्न सक्दैनन् । विज्ञापन नभई मिडिया चल्दैन ।
(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)