आफ्नै अग्निपरीक्षाको निम्ति पनि उम्मेदवारी दिएको हुँ : जितेन्द्र सिंह थापा

| 2018 Jun 11 | 05:58 pm 8072

(उम्मेदवार, केन्द्रीय सदस्य–खुल्ला), नेपाल ट्रेड युनियन काङ्ग्रेस, छैठौं राष्ट्रिय महाधिवेशन

० नेपाल ट्रेड युनियन काङ्ग्रेसको केन्द्रमा तपाईंको उम्मेदवारी केका लागि हो ?
– म विगत लामो समयदेखि कर्मचारी, मजदुरको अधिकारको लागि अहोरात्र लड्दै आएको छु । नेपाल ट्रेड युनियन काङ्ग्रेसको यसपटकको महाधिवेशनमा मूलतः श्रमिक वर्गको हक, हित र एकताको सन्देश दिनका लागि मेरो उम्मेदवारी हो ।

० नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकको दुई कार्यकाल अध्यक्ष हुनुभएको व्यक्ति किन यता फेरि सदस्यमा उम्मेदवार बन्दै हुनुहुन्छ ?
– तपाइले भन्न खोजेको कुरामा म सहमत छु । तर, प्रतिष्ठानमा एउटै व्यक्ति बसिरहन उपयुक्त होइन भन्ने मेरो मान्यता हो । एउटै व्यक्तिले सधै एकै संस्थामा बर्चस्व कायम राख्न खोज्यो भने त्यहाँ उसले गर्ने क्रियाकलापमाथि शंका गर्ने ठाउँ त रहन्छ नै, नेतृत्व विकासको अभाव पनि खड्किन्छ । त्यसैले युवा वर्गलाई नेतृत्व दिएर मैले नेपाल ट्रेड युनियन काङ्ग्रेसको सदस्यमा उम्मेदवारी दिन लागेको हुँ । कसैलाई लाग्न सक्ला किन सदस्यमा गयो भनेर, तर घर बनाउँदा जगबाट सुरु गर्नुपर्छ भन्ने मान्यतालाई मैले राम्रोसँग बुझेकाले यसपटक अग्रजलाई सम्मान गर्दै सदस्यमा उम्मेदवारी दिएको हुँ ।

० तपाईंको नजरमा नेपाली श्रमिकका खास मुद्दा के–के हुन् ?
– विभिन्न कित्तामा विखण्डित भएका मजदुरहरुलाई एउटै छातामुनि एकताबद्ध बनाउँदै श्रम ऐनलाई श्रमिकको पक्षमा कार्यान्वयन गराउने र तल्लो वर्गमा कार्यरत श्रमिकहरूको हक, हितको लागि क्रियाशील हुनु नै मुख्य मुद्दाहरू हुन् ।

० एउटै संस्थामा दुईवटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ, तपाई कुन प्यानलबाट लड्दै हुनुहुन्छ ?
– श्रमिकको मुद्दाको लागि र नेपालको ट्रेड युनियन आन्दोलनमा दुवै पक्षको उत्तिकै योगदान रहेको छ । निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुलाई अन्यथा लिनु हुँदैन ।

० आफ्नै संस्थाभित्र निर्विवाद नेतृत्व बनाउन नसक्ने तपाईंहरुले अन्य संगठनका मजदुरलाई कसरी आकर्षित गर्न सक्नुहोला, के भन्नुहुन्छ ?
– लोकतान्त्रिक पद्दतिमा आपसी प्रतिष्पर्धालाई अन्यथा लिनु हुँदैन । विगत लामो समयदेखि मजदुरको मुद्दालाई उठाउँदै आएका अग्रज साथीहरूले आफ्नो अग्निपरीक्षा गर्नको लागि पनि उम्मेदवारी दिनु स्वभाविक हो । आफूले मजदुरको पक्षमा कति काम गरेँ भनेर आफैलाई मूल्याङ्कन गर्नको लागि पनि उम्मेदवारी दिनुलाई अन्यथा लिनु हँुदैन ।

० अन्तमा थप केही ?
– म नेपालको ट्रेड युनियन आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन एउटा इट्टा थप गर्नका लागि अग्रज मजदुर नेतासँग काँधमा काँध मिलाउन चाहन्छु । मलाई आशा एवम् विश्वास छ– महाधिवेशन प्रतिनिधिले आफ्नो अमूल्य मत प्रदान गरी सेवा गर्ने मौका दिनुहुनेछ । मलाई अत्यधिक मतले विजयी गराइदिनु हुन सबै महाधिवेशनका प्रतिनिधिमा हार्दिक अनुरोध गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.