काठमाडौं, जेठ १७: आफैंलार्इ गोली हान्न लगाएर धार्मिक आन्दोलन गर्ने योजनामा लागेका धर्मगुरु श्रीनिवास आचार्यलार्इ जेल चलान गरिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले बुधबार उनलार्इ हातहतियार तथा खरखजना ऐन २०१९ को दफा २४ को क बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । आचार्य श्रीनिवास भनिने दिनेशप्रसाद पण्डितलार्इ झुम्का कारागारमा राख्ने निर्णय भएको सहायक प्रजिअ उमेश पाण्डेले बताए ।
आचार्यले भने आफुलार्इ विभिन्न राजनीतिक दलले फसाएको र आफैंमाथि गोलि प्रहार गर्न लगाएको बयान दिएको थिए ।
गोली हानेर हिन्दु राष्ट्रको आन्दोलन चर्काउने योजना एक वर्षअघि नै बनेको खुलेको छ। पक्राउ परेका उनका सहयोगी लक्ष्मीराज अधिकारीले एक वर्षअघि नै यसबारे छलफल भएको बताएका हुन् । उनै अधिकारीले सुटर माधव चौधरीलाई तयार बनाएका थिए। चौधरीलाई हातमा गोली हान्न निर्देशन दिइए पनि ‘मिसफायर’ हुँदा कुममा लागेको खुलेको हो ।
श्रीनिवासमाथि गत चैत २५ गते विराटनगरको जतुवामा गोली प्रहार भएको थियो। बिहान शौचालयमा जाने क्रममा योजना अनुसार नै गोली प्रहार भएको थियो। योजना अनुसार नै गोली हान्ने चौधरी भागेका थिए। धर्मगुरुका शिष्य लक्ष्मीराज अधिकारीले अरुलाई खबर गरी अस्पताल पुर्याएका थिए।