आपराधिक घटनामा संलग्न व्यक्तिलाई विदेश यात्रामा कडाई

| 2020 Feb 23 | 07:51 am 1682

काठमाडौं, फागुन ११: आपराधिक घटनामा संलग्न र बैंकिङ कसुरको अनुसन्धानमा परेका व्यक्तिलाई विदेश यात्रामा कडाइ गरिने भएको छ।

सरकारले अध्यागमन ऐन २०४९ लाई विस्थापन गर्न ल्याएको विधेयकमा बैंकिङ एवम् वित्तीय अनुसन्धानमा परेका र संगठित अपराधमा संलग्न व्यक्तिलाई विदेश जान रोक लगाउने प्रस्ताव गरिएको हो।

प्रस्तावित कानुनअनुसार राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर नकारात्मक प्रभाव पार्ने अवस्था देखिए सरकारले जोकोहीलाई पनि विदेश जानबाट रोक्न सक्नेछ। विज्ञहरूले भने यस्तो प्रावधानले सरकारले चाहेमा कुनै पनि व्यक्तिलाई विनाकारण विदेश भ्रमणमा रोक लगाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

कर, राजस्व, बैंकिङ कारोबार, आर्थिक वा वित्तीय कसुर, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन तथा ओसारपसार आरोपमा अनुसन्धान भइरहेका व्यक्तिलाई विदेश भ्रमणमा रोक लगाउन सकिने विधेयकमा छ।

लागूऔषध कारोबार, अवैध हतियार कारोबार, संगठित अपराध, आतंकवादसम्बन्धी कसुरको अभियोगमा अनुसन्धान भइरहेका व्यक्तिलाई विदेश जान दिइने छैन। अन्नपूर्ण पोस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.