गत जेठ ३१ का दिन नेपाली काङ्ग्रेसको सुर्खेत जिल्ला कार्यालयमा भएको प्रहरी दमनको घटनाप्रति काङ्ग्रेसका केन्द्रिीय नेताहरूले विरोध जनाउँदै विज्ञप्ति प्रकाशित गरेका छन् । सो घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले विज्ञप्तिमार्फत् विरोध जनाएका हुन् ।
केन्द्रीय सदस्यहरू नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले अप्रत्यासित रुपमा भएको मूल्यवृद्धिकाविरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शनपश्चात नेपाली कांग्रेस सुर्खेतकै पार्टी कार्यालयमा समेत प्रहरी प्रवेश गरी कुटपिट, आक्रमण, धरपकड र पक्राउ गर्नु लोकतान्त्रिक व्यवस्थाको वरखिलाप मात्र होइन दण्दहिनताको पराकाष्ठा हो भनेका छन् ।
उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘आम जनसरोकारका विषयलाई शान्तिपूर्ण आन्दोलनमार्फत प्रस्तुत गर्ने र सरकारलाई दबाब दिने माध्यम भनेकै ‘जुलुस प्रदर्शन’ लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने पहिलो माध्यम र अंग पनि हो । पञ्चायतकालीन कालरात्रीमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै प्रहरी प्रवेश गर्ने र आक्रमण गर्ने घटना भएका थिएनन् । तर कम्युनिष्ट सरकारको पालामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा मात्र होइन सरकारले आगामी दिनमा चाल्ने कदम प्रति गम्भीर आशंका पैदा गरेको छ ।’
सरकारको यस्ता खालका अमानवीय र दमनपूर्ण रवैया रहीरहे विद्यार्थीहरुले जारी राखेको शान्तिपूर्ण प्रदर्शन गाउँदेखि सहर हुँदै सिंहदरबारसम्म पुग्ने चेतावनी समेत सो विज्ञप्तिमार्फत् नेताहरूले दिएका छन् ।