आन्तरिक किचलोमा फसेको राजपालार्इ अर्को झड्का

रिपोर्ट नेपाल | 2018 Jun 08 | 07:30 am 1218

काठमाडौं- आफ्‍नै आन्तरिक किचलोमा फसिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) लार्इ फेरि अर्को झड्का लागेको छ । निर्वाचन आयोगले एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउन पत्र लेखेपछि राष्ट्रिय जनता पार्टी (राजपा) मा एकाएक झस्किएको हो ।

आफैंले तोकेको म्यादभित्र अधिवेशन गर्न नसकेपछि अबको रजानीतिक दिशा कसरी तय गर्ने भन्नेबारे छलफल गर्न अध्यक्षमण्डल छलफलमा व्यस्त रहेका बेला शुक्रबार आयोगले पत्र पठाएपछि खैलाबैला मच्चिएको सचिवालयका एक सदस्यले बताए । ‘अबको एक महिनाभित्र महाधिवेशन गर्ने मिति सकिन्छ तर यो अवधिमा महाधिवेशन सम्भव छैन,’ एक सदस्यले भने, ‘अब हामीले निर्वाचन आयोगसँग ६ महिनाको थप समय मागेर महाधिवेशनका लागि तयारी गर्नुपर्नेछ ।’

आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ । त्यसैमाथि मंगलबारदेखि छलफल भइरहेको स्रोतले बतायो । विधान तयार पारेपछि बढीमा ६ महिनाभित्र महाधिवेशन गर्ने राजपाको तयारी छ ।

गत वर्ष असार २३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्तिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले एकीकरण गरी नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । अयोगले असार ३० गते राजपालाई मान्यता दिएको थियो ।

नयाँ दलमा एक वर्षभित्र महाधिवेशन गरेर अध्यक्ष टुंगो लगाउने र त्यस समयसम्मका लागि ६ दलकै नेताको संयुक्त अध्यक्षमण्डलले सामूहिक नेतृत्व गर्ने तय भएको थियो । असार ३० गते त्यो मिति पुगे पनि समयभित्र महाधिवेशन गर्न राजपा असमर्थ भएपछि उसको वैधानिकतामा आयोगले चासो दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.