आदर्श प्रेम सिकाउने ‘बेबि आई लभ यू’

रिपोर्ट नेपाल | 2018 May 25 | 04:03 am 2954

काठमाडौं: पछिल्लो समय लभस्टोरी जनराका प्रायः फिल्म बक्सअफिसमा राम्रै चलेका छन् । युवा पुस्ताका दर्शक लभस्टोरी फिल्मप्रति सजिलै आकर्षित हुने हुँदा मेकर्सहरु पनि हत्तपत्त अन्य जनरा रोज्न खोज्दैनन् । यस्तैमा जेठ १८ गतेबाट अर्को फ्रेस लभस्टोरी भनिएको फिल्म ‘बेबि आई लभ यू’ देशव्यापी प्रदर्शनमा आउँदैछ ।

समर र सायराको प्रेम र संघर्षको कथा बोल्ने यस फिल्मले फरक खालको प्रेम महशुस गराउने निर्देशक जनक पाण्डे दाबी गर्छन् ।

उनी भन्छन्, ‘यो फिल्मले आदर्श प्रेम सिकाउँछ । मायालाई शब्दमा मात्र सिमित राख्नु हुन्न भन्ने बुझाउँछ ।’ फिल्ममा समरको भूमिका निर्वाहा गरेका नव-नायक सन्तोष खड्गीले ‘बेबि आई लभ यू’ मा फरक प्रेम कहानी प्रस्तुत गरिएको बताउँछन् ।

फिल्मको वान लाइन स्टोरी समेत आफैंले लेखेका उनी भन्छन्, ‘समर र सायराको प्रेम फरक अन्दाजको छ । यसमा प्रेमको फरक-फरक रुप देखाइएको छ । कथा नै यस्तो छ कि जो कोहीँको आँखा रसाउँछ ।’

उनले सेटमा संवाद बोल्दै गर्दा धेरै पटक भक्कानिएको पनि सम्झिए । सन्तोषले फिल्मको केही पाटो आफ्नो जीवनसँग मेल खाने पनि खुलाए ।

हिरो बन्न डेब्यू फिल्ममा त पैसा खन्याउनु पर्छ रे नी ? भन्ने पत्रकारको प्रश्नमा उनले वजनदार जवाफ फर्काए, ‘हो मैले लगानी गरेको छु । पैसा होइन पसिना । मैले मात्र होइन हरेक एक कलाकारले पसिना लगानी गर्नुभएको छ ।’

यस्तै, पर्दाकी सायरा उर्फ नव-नायिका पूजा तिवारीले ‘बेबि आई लभ यू’ ले दर्शकलाई निराश नबनाउने बताइन् । उनी भन्छिन्, ‘यो फिल्म एकपटक मात्र हेरेर अघाउन्न । फिल्मले मायाको परिभाषा बुझ्न मद्दत गर्नेछ । एकपटक प्रेम बुझ्न भएपनि हलसम्म जान आग्रह गर्छु ।’ उनले समर र सायराको जोडीलाई दर्शकले अर्को फिल्ममा पनि हेर्ने इच्छा व्यक्त गर्ने बताइन् ।

सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको पनि अभिनय छ ।

लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा शिव न्यौपाने निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् । यो फिल्म सुरज आचार्यले खिचेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.