‘आत्महत्या’को रणनीतिक रहश्य !

| 2021 Oct 06 | 03:55 pm 257

  • देवप्रकाश त्रिपाठी

कम्युनिष्ट भएर पनि देशभक्त, राष्ट्रवादी र इमानदार नेताको छवि कायम राख्न सफल सीमित व्यक्तिहरू मध्येका एक मोहन वैद्य किरणले ‘राजा नयाँ सोचका साथ आए आफूहरू राजालाई ठाउँ दिन तयार रहेकोे’ अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा चासो राख्नेहरूलाई तरङ्गित तुल्याएको छ । वैद्यले ‘कम्बोडिया मोडल’मा आफूहरू जान तयार रहेको घोषणा गर्नु र, अर्का माओवादी नेता प्रचण्डले आफू ‘मर्ने या मार्नेे’ स्थितिमा पुगेको जानकारी गराउनुलाई सामान्य अर्थमा बुझ्नु हुँदैन । यसले माओवादी नेताहरूको मनोदशा र भावी राजनीतिको सम्भाब्य तस्बिरको झलक दर्शाएको छ । कुनै न कुनै प्रकारले माओवादीको सहयोगी एवम् संरक्षक रहँदै आएका मुलुकहरूले माओवादीप्रतिको दृष्टि र व्यवहारमा पुनर्विचार गर्दै गरेको सङ्केत पाएपछि मोहन वैद्य र प्रचण्डको ‘नयाँ’ अभिव्यक्ति प्रकट भएको हो ।

हिंसाकालमा प्रचण्ड राजासँग सहकार्य गरेर अघि बढ्न चाहन्थे । त्यस निम्ति उनले राजासँग प्रत्यक्ष-अप्रत्यक्ष संवाद पनि शुरु गरेका हुन् । काङ्ग्रेस-एमालेलाई विस्थापित गर्दै राजासँग सम्पूर्ण सत्ता साझेदारी गर्ने प्रचण्डको प्रस्ताव (२०६१) मा राजा ज्ञानेन्द्र सहमत हुन सकेका भए ‘कम्बोडिया मोडल’को राजनीति २०६१ सालमै प्रारम्भ भइसकेको हुने थियो । त्यसताक माओवादीभित्र दुई भिन्न विचारको द्वन्द्व थियो । मोहन वैद्य र सिपी गजुरेलहरू वैदेशिक भूमिकालाई निषेध गर्ने पक्षमा थिए भने भ्याटिकन सिटीको सम्पर्कमा रहेर क्रियाशील भएका ‘जेएनयुका उत्पादन’हरू राजाप्रति अति वैरभाव राख्थे र, विदेशीसँग सम्झौता गरेर भए पनि नेपालबाट राजसंस्था विस्थापित गर्नुपर्छ भन्ने उनीहरूको मान्यता थियो । यी दुई विचारको बीचमा थिए प्रचण्ड, दुईमध्ये जुन बाटोबाट सूरक्षित ढङ्गले शीघ्र सत्ताको केन्द्रबिन्दुमा पुग्न सकिन्छ त्यही बाटो समाउनुपर्छ भन्ने सोच उनको थियो । जतिबेला राजासँग संवाद हुँदै थियो, त्यतिबेला बाबुराम भट्टराईप्रति कठोरतम् व्यवहार गर्दै भारतसँग लड्न पश्चिम नेपालतिर सुरुङ खन्दै हिँड्ने काम प्रचण्डबाट भएको थियो । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रबाट शासन सत्ता आफूमा निहित गर्ने कदम चालिएको केही सातासम्म प्रचण्डमा राजाले आफूसँग सत्ता साझेदारी गर्ने विश्वास थियो । शासनाभार लिएको तीन महिनासम्म पनि राजाबाट कुनै सकारात्मक सङ्केत नमिलेपछि प्रचण्ड बाटो फेर्न बाध्य भएका थिए । राजासँगको ‘सहकार्य’ सम्भव नदेखिएपश्चात प्रचण्डले बाबुराममाथिको कठोर कारवाही फुकुवा गर्दै ‘एकताको प्रक्रिया’ अघि बढाए र, कतै खन्दै गरेको भनिएको सुरुङ निर्माण कार्य पनि बन्द गराइदिए । त्यसपछि मोहन वैद्य र सिपी गजुरेललगायतका नेताहरूलाई भारतमै पक्राउ गरेर काराबास पठाउँदै बाह्रबुँदे सम्झौता गर्ने कार्य सम्पन्न भएको थियो ।

प्रचण्डको सपना कम्युनिज्म र समाजवादको नाममा सम्पूर्ण सत्ताको मालिक बन्नु हो र, त्यसनिम्ति उनी जस्तोसुकै चरित्र र भूमिकामा देखापर्न सक्छन् । भारत, भ्याटिकन सिटी, युरोपियन युनियन, स्काण्डिभियन मुलुक र अमेरिकासमेतलाई गुमराहमा पार्दै आफ्नो पक्षमा उपयोग गर्न आफू सफल भएको आत्मभ्रममा प्रचण्ड छन् । वास्तवमा प्रचण्ड पनि बाबुराम झैँ कसैबाट उपयोग र प्रयोग हुँदै थिए । हरेक पक्षसँगको भेटवार्तामा सम्बन्धित पक्षकै हित अनुकुल क्रियाशील रहने ‘प्रतिवद्धता’ जनाएर सबैतिरको विश्वास प्राप्त गर्ने प्रचण्ड-सूत्र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणसँगै ‘एक्स्पोज’ भएको हो । दुई वर्षअघि चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमन भएका बेला प्रचण्डले चीनको विश्वास आर्जन गर्न अमेरिकाविरुद्ध दिएका गोप्य अभिव्यक्तिहरू वाङले बेइजिङ फर्किएलगत्तै सार्वजनिक गरिदिएका थिए । वाङ्ले त्यसरी प्रचण्डलाई ‘एक्स्पोज’ गर्नुको एक मात्र कारण प्रचण्डले आफ्नो कित्ता स्पष्ट गरुन् भन्ने रहेको बुझ्न सकिन्छ । यस घटनापछि पश्चिमी दृष्टिमा प्रचण्ड थप शङ्काको घेरामा परेको भए पनि प्रयोजन बाँकी रहेको हुँदा पश्चिमाहरूले प्रचण्डसँगको सम्पर्क-सम्बन्ध यथावत राखेका थिए । तर ‘एमसिसी अनुमोदन’सम्बन्धी विषयमा प्रचण्डले निर्वाह गरेको दोहोरो भूमिकाले अमेरिकी दृष्टिकोणमा निर्णायक परिवर्तन ल्याउने पृष्ठभूमि निर्वाह गऱ्यो । अमेरिकालगायत सम्पूर्ण पश्चिमी मुलुकहरू आफूले भविष्यमा फेरि दिग्भ्रमित तुल्याउन नसक्ने गरी बक्री भएको महसूस प्रचण्ड स्वयमले गरिसकेका छन् ।

कुनै बेला प्रचण्डसँग पुरानो सत्ताको भारत साथमा थियो, युरोपियन युनियन, स्काण्डिभियन मुलुक, बेलायत अमेरिका र अनेकौँ अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरू, भ्याटिकन सिटी तथा देशभित्र गिरिजाप्रसाद कोइराला एवम् माधव नेपाललगायतका व्यक्ति र समूहहरूले प्रचण्डका सामु आफूहरूलाई समर्पित गरेका थिए । त्यसताक प्रचण्डलाई लागेको हुँदो हो ‘म नै संसारको ताकतवर प्राणी हुँ ।’

छिमेकी मित्रराष्ट्र भारतले नेपालको वर्तमान संविधानप्रति ‘रिजर्भेसन’ राखेको जगजाहेर छ र, अनेकौँ कारणवश प्रचण्डप्रतिको भारतीय दृष्टिमा पनि भारी परिवर्तन आएको बुझिन्छ । जुन संविधानलाई प्रचण्ड आफ्नो रक्षाकवच ठान्दछन्, त्यो संविधानको स्वागत भारतबाट अहिलेसम्म नभएको परिप्रेक्ष्यमा आफूप्रति भारतीय व्यवहारसमेत बदलिएपछि वास्तवमा प्रचण्ड आत्तिएका छन् ।

वि.सं. २०७४ मंङ्सिरको संसदीय निर्वाचनमा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर प्रत्येक्षतर्फ मात्र अकल्पनीय विजय (सैंतिस स्थानमा) हाशील गर्न सफल प्रचण्ड (माओवादी) केपी शर्मा ओलीको ‘नाजुक स्वास्थ्यस्थितिबाट आकर्षित भइ’ नेकपा एमालेसँग पार्टी एकीकरण गर्न अग्रसर भएका थिए । केपीपछि पार्टीसत्ताको सर्वेसर्वा बनिने र करिव दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकारको एकलौटी नेतृत्व गर्दै एकदलीय अधिनायकवादमा आधारित समाजवादमा छलाङ मार्ने सपनाबाट प्रचण्ड उत्साहित भएका थिए । तर अपेक्षाविपरीत केपीको स्वास्थ्यस्थिति सवल हुँदै गएपछि झस्किएका प्रचण्डले अनेक निहुँ खोज्न थाले । त्यस क्रममा २०७७ सालको मध्येतिर सैंतिस पृष्ठ लामो आरोपपत्र प्रस्तुत गर्दै प्रचण्डले भनेका थिए- ‘वर्तमान संविधान र संसदीय हैसियतलाई उपयोग गर्दै समाजवादमा छलाङ मार्नुपर्नेमा केपी यही व्यवस्था (सङ्घीय लोकतान्त्रिक गणतन्त्र) मा अडिएर पो बस्न खोज्छन् ।’ हो, यही संविधान र व्यवस्थाको पक्षमा अड्न खोज्नु केपीको गल्ती हुन सक्ला, तर एकदलीय अधिनायकवादी समाजवादमा छलाङ मार्न नचाहेर केपीले नेपालको इतिहासमा ठूलो गुन लगाएका छन् । जुन संसद्लाई भऱ्याङ बनाएर प्रचण्ड आफ्नो लक्ष्य भेदन गर्न चाहन्थे त्यही भऱ्याङ भत्काएर केपीले प्रचण्डको चलखेल गर्ने चौरमा काँडेतार लगाइदिन खोजेका पनि हुन् । माओवादीको हितैषी दल काङ्ग्रेस पार्टी र पश्चिमा शक्तिले खास प्रयोजनका निम्ति प्रचण्डहरूलाई उपयोग गर्दै केपीलाई बलजफ्ती सत्ताबाट विस्थापित त गऱ्यो, तर एमसिसी प्रकरणमा प्रचण्डको भूमिकाले वामपन्थी काङ्ग्रेस र अमेरिकालाई धक्का पुऱ्याएको छ ।

उता झण्डै दुई तिहाइ बहुमत प्राप्त संसदीय हैसियतलाई उपयोग गर्दै संसद्को यसै कार्यकालभित्र सम्पूर्ण सत्ताको अधिपति बन्ने मानसिक तयारीमा रहेका प्रचण्ड यतिबेला बीचबाटोमै कण्डक्टरबाट ओरालिएका बसको यात्री जस्ता भएका छन्, अब कुन बस चढेर कतिबेला गन्तव्यमा पुग्ने हो भन्ने बारेमा सडक किनारामै उभिएर सोच्ने अवस्थामा प्रचण्ड आइपुगेका छन् । कुनै बेला प्रचण्डसँग पुरानो सत्ताको भारत साथमा थियो, युरोपियन युनियन, स्काण्डिभियन मुलुक, बेलायत अमेरिका र अनेकौँ अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरू, भ्याटिकन सिटी तथा देशभित्र गिरिजाप्रसाद कोइराला एवम् माधव नेपाललगायतका व्यक्ति र समूहहरूले प्रचण्डका सामु आफूहरूलाई समर्पित गरेका थिए । त्यसताक प्रचण्डलाई लागेको हुँदो हो ‘म नै संसारको ताकतवर प्राणी हुँ ।’ तर अब परिस्थिति बदलिएको छ, प्रचण्ड पानी पिइसकेपछिको गिलास झैँ रछ्यानमा फालिने स्थितिमा पुगेका छन् । आफूलाई उठाउन अन्तिम एकपटक सङ्घर्ष नगरे खरानी या साबुनले धोएर घाममा सुकाइने दिन नजिकिँदै गएको आभाष प्रचण्डलाई हुन थालेको छ । त्यसैले प्रचण्ड मानसिक छटपटीमा छन्, उनको छटपटी अनेक ढङ्गले प्रकट हुने गरेको छ ।

आत्महत्या व्यक्तिको नैसर्गिक अधिकार हो या होइन भन्ने प्रश्नमा संसार एकमत छैन । धेरै मुलुकको कानूनले आत्मघातलाई अपराध मानेको छ । तर हत्याको पृष्ठभूमिबाट आएका प्रचण्डले ‘आत्महत्या सबै अवस्थामा गलत नहुने’ भन्दै नेपालको कानूनविपरीत आममानिसलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेका छन् । माक्र्सका छोरी र ज्वाईंले समेत आत्महत्या गरेको स्मरण गराउँदै उनले आफ्नो पार्टीका कार्यकर्ताहरूलाई पनि ‘क्रान्तिकारी आत्महत्या’ उचित भएको सन्देश दिएका छन् । प्रचारमा आएजस्तो प्रचण्डले आफू आत्महत्याको मानसिकतामा रहेको सूचना दिएका होइनन् । आफ्नो मोजमस्तिका दिन सकिएर विगतको अपराधका आधारमा कुनै पनि घडी कानूनी कारवाही झेल्नुपर्ने अवस्था निकट हुँदै गएको आभाष गरेका उनले गोञ्जालो झैँ पिँजडाको यातनापूर्ण अवस्थामा जीवन अन्त्य गराउनुभन्दा एकपटक फेरि मार्ने र मर्ने तहको लडाइँ गर्ने मानसिकता बनाएका हुन् । आफूबाट आत्मसमर्पण नहुने स्पष्टिकरण प्रचण्डले दिएका छन् । एकपटक शत्रु (भिन्न विचार समूहका नेपाली) का विरुद्ध जाइलाग्ने र जनताका हातबाट मर्नुपर्ने स्थिति आइपऱ्यो भने आत्महत्या गर्ने उनको आशय हो ।

निजी महत्वाकाङ्क्षा पूरा गर्न जस्तोसुकै जोखिम उठाउन सक्ने क्षमता प्रस्तुत गरेर क्रान्तिकारीको छवि बनाएका प्रचण्ड खुला राजनीतिमा देखापरेको डेढ दशकपछि ‘मार्ने र मर्ने’ स्तरको मनोदशामा किन आइपुगे भन्ने यस सन्दर्भको मूल प्रश्न हो । हरेक पक्षसँग बेग्लाबेग्लै ‘डिल’ गर्ने र जुन पक्षलाई जस्तो सन्देश दिँदा खुशीको अनुभूति हुन्छ त्यसै अनुरूप प्रस्तुत हुने उनको कलाकारिताले पछिल्लो समयमा काम गर्न छोडिसकेको छ । अरुले छोडेपनि अब अन्तर्राष्ट्रिय जगतमा चीन एउटा मुलुकबाट सहारा मिल्ला कि भन्ने आशामा प्रचण्ड छन् । एमसीसीविरुद्ध उभिन सक्दा चीनले पत्याउने र चीनकै सहारामा बाँकी जीवन गुजार्ने प्रचण्डको मनोकाङ्क्षा अनेक प्रकारले प्रकट भइरहेको छ । नेपालभित्र एमाले, काङ्ग्रेस र मधेशकेन्द्रीत समूहहरू अन्ततः आफूअनुकुल नरहने ठम्याइ प्रचण्डको छ भने त्यो गलत होइन । त्यस्तो स्थितिमा राजालाई आफ्नो पक्षमा ल्याउने र, त्यसनिम्ति चीनको सहयोग लिने मनोनिष्कर्षमा प्रचण्ड पुगेको सङ्केतहरू देखिन थालेका छन् । कम्बोडियाको झैँ राजा र आफूहरू मिलेर शासन गर्ने परिस्थिति निर्माण गर्नु नै प्रचण्डको अबको लक्ष्य हुन सक्छ । मोहन वैद्य किरणलाई तदनुरुपको अभिव्यक्ति दिन लगाएर प्रचण्डले भावी राजनीतिको नयाँ रेखा कोरेका हुन् ।

नेपालमा विद्यमान संविधान यथावत राखेर राजनीतिक परिस्थिति बदल्ने अभ्यास आरम्भ हुनेछ । मूलतः कम्युनिष्टलाई दरकिनार गर्ने लक्ष्यसहित प्रारम्भ हुने त्यस्तो अभ्यासको कोपभाजनमा कम्युनिष्टहरू पर्नेछन् । यही सम्भावनालाई दृष्टिगत गरी प्रचण्डले मोहन वैद्यमार्फत कम्युनिष्ट र राजा मिलेर अगाडि जान सक्ने सन्देश प्रवाह गराएका छन् भने अर्कोतिर अन्तिममा एकपटक लड्नुपर्ने अवस्था आएको घोषणाचाहिँ आफैंले गरेका छन् ।

एमसीसी अनुमोदन भएको या नभएको अवस्थामा अब कम्युनिष्टहरूप्रतिको अमेरिकी नीति र व्यवहारमा भारी परिवर्तन आउन सक्ने प्रवल सम्भावना छ । यसैसँगै भारत र अमेरिकाबीच नेपालका बारेमा समान धारणा बन्ने निश्चितप्रायः छ । जातीय आधारमा तय गरिएको समानुपातिक एवम् आरक्षण प्रणाली, गणतन्त्र र सङ्घीयता सूरक्षित रहने निश्चिततासहित हिन्दूराष्ट्रको पहिचानमा नेपाललाई लैजान अमेरिका र भारत सहमत भए भने नेपालमा विद्यमान संविधान यथावत राखेर राजनीतिक परिस्थिति बदल्ने अभ्यास आरम्भ हुनेछ । मूलतः कम्युनिष्टलाई दरकिनार गर्ने लक्ष्यसहित प्रारम्भ हुने त्यस्तो अभ्यासको कोपभाजनमा कम्युनिष्टहरू पर्नेछन् । यही सम्भावनालाई दृष्टिगत गरी प्रचण्डले मोहन वैद्यमार्फत कम्युनिष्ट र राजा मिलेर अगाडि जान सक्ने सन्देश प्रवाह गराएका छन् भने अर्कोतिर अन्तिममा एकपटक लड्नुपर्ने अवस्था आएको घोषणाचाहिँ आफैंले गरेका छन् । यसले नेपाली राजनीति गम्भीर प्रकृतिको ध्रुवीकरणतर्फ बेरोकटोक अघि बढेको सङ्केत गर्दछ ।

‘इण्डोवेस्ट’ र चीनबीच नेपालमा ‘प्रोक्सीवार’ शुरु हुनुअघि यहाँको राजनीतिमा गहिरो धु्रवीकरण आमन्त्रित हुन्छ, जसको थालनी प्रचण्डले गरिसकेका छन् । बाहिरबाट हेर्दा पश्चिमी ‘फ्लेवर’का शेरबहादुर देउवा र प्रचण्ड एउटै गठबन्धनमा समाहित देखिए पनि यो गठबन्धन रणनीतिक हो र, ‘प्रतिक्रियावादीको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने’ रणनीतिक चालका रूपमा यसलाई बुझ्नु उपयुक्त हुनेछ । त्यसरी नेपाली राजनीति दुई ध्रुवमा विभाजित भएमा राजाका निम्ति एउटा अनुकुल परिस्थिति निर्माण भएजस्तो प्रतीत हुन सक्छ । कम्युनिष्ट र चीनको सहयोगमा राजसंस्था पुनर्वहालीको बाटो रोज्ने या भारत र पश्चिमी साथ लिएर राजसंस्था फर्काउने भन्ने ‘च्वाइस’ राजाका सामु उत्पन्न हुन सक्छ, तर दुई ध्रुवीय तनावको स्थितिमा एउटा पक्षको हात समातेर आउन खोज्नु राजा र मुलुकका निम्त सहज नहुन सक्छ । इण्डोनेसियामा झैँ एउटा पक्ष समाप्त हुन सक्ने स्थिति तत्काल नरहेको विद्यमान स्थितिमा दुई ध्रुवीय तनावले वाह्य हस्तक्षेप निम्त्याउने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन ।

जे होस्, प्रचण्ड-बाबुरामहरू राजनीतिमा सक्रिय रहिन्जेल नेपाल शान्त र स्थिर हुन नसक्ने थप पुष्टि हुँदैछ । हालसम्म निरपेक्ष झैँ रहेको चीनलाई समेत नेपाली राजनीतिमा सामेल गराउन खोजेर माओवादीहरूले नेपालमा ‘क्रान्ति’ गराउन चाहेका हुन् या देशको सार्वभौमिकताको विसर्जन, आमजनताले समेत यस प्रश्नमा विलम्ब नगरिकन चासो राख्नुपर्ने भएको छ । ज्यानसँग सत्ता साट्न तयार रहेका सत्तापिपासुहरू राष्ट्रिय गीतभन्दा अन्तर्राष्ट्रिय गीतमा रोमाञ्चित रहन्छन् र, राज्य भङ्ग भएर देशको सीमा मेटिँदा हर्षले पुलकित हुन्छन् । यिनकै कारण नेपाल एकपटक फेरि सङ्कटको भुमरीमा फस्ने त्रास बढ्दैछ, जय मातृभूमि ! घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.