आठ बालबालिकामा क्षयरोग संक्रमण

| 2023 Mar 26 | 05:10 pm 1233

चितवन, चैत १२: जिल्लामा आठ बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएकामा तीमध्ये आठ बालबालिका छन्।

स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार संक्रमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक/एक र इच्छाकामना गाउँपालिकामा एक जना छन्। चौध वर्षमुनिका बालबालिकामा क्षयरोग देखिएको उनले बताए।

दुवाडीले बालबालिकामा बढी संख्यामा ग्रन्थी, पेट र आन्द्रामा क्षयरोग देखिने गरेको जानकारी दिए। संक्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेका छन्।

विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको संक्रमण हुने गरेको छ। गत आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ९६ मा क्षयरोगको संक्रमण देखिएको थियो। तीमध्ये ३१ बालबालिका थिए। आर्थिक वर्ष २०७७/७८ मा संक्रमितको संख्या आठ सय ९३ मध्ये १८ जना बालबालिका थिए।

दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनु लगायत लक्षण देखिए क्षयरोग भएको हुनसक्ने दवाडीले बताए। यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ।

स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्ने र समय समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.