पर्वत, जेठ २३: पर्वत जिल्लाको महाशिला गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न आठवटा विधेयक पारित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मतरूपमा विधेयक पारित भएको कार्यपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।
गाउँ सभाले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन-२०७५, कृषि व्यवसाय प्रवद्र्धन ऐन-२०७५, न्यायिक समितिले उजुरीको कारबाही किनार गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७५, सहकारी ऐन-०७५, स्थानीय शिक्षा ऐन-२०७५, पूर्वाधार व्यवस्थापन ऐन-२०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक-२०७५ र स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन-२०७५ सर्वसम्मतरुपमा पारित गरेको हो ।
शिक्षा विधेयकमा शिक्षकको दरबन्दीलाई स्थानीयकरण गरी हेरफेर, आन्तरिक सरुवा बढुवा गर्ने उल्लेख छ । यसैगरी, कृषि व्यवसाय तथा प्रवद्र्धन विधेयकले गाउँपालिका क्षेत्रमा रहेका सम्भावनाको पहिचान गरी कृषिजन्य उत्पादनलाई जोड दिने व्यवस्था गरिएको छ ।
संविधानअनुसार स्थानीय तहले विभिन्न २२ वटा कानून बनाउनुपर्नेछ । विधेयक पारित भएपछि गाउँपालिकाले संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न सहज हुने अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि तोक आदेश र निर्देशनको आधारमा काम गर्नुपर्ने अवस्था थियो ।
यस्तै, केही विधेयक तथा संकल्प प्रस्ताव विधायन समितिमा पुनः छलफलका लागि पठाउने निर्णय भएको छ । स्थानीय सेवा ऐन-२०७५ पुनः छलफलका लागि पठाइने भएको प्रवक्ता उच्चैले जानकारी दिए ।
त्यसैगरी, गाउँसभाले गाउँपालिकाभित्र मदिरा उत्पादन तथा बिक्री–वितरण र बाँदर नियन्त्रण अभियान सञ्चालन गर्ने संकल्प प्रस्ताव पनि पारित गरेको छ । मदिरा नियन्त्रणका लागि रु ६ लाख विनियोजन गरिएको छ । आगामी असोज मसान्तसम्म मदिरा पूर्णरुपमा नियन्त्रण गर्ने निर्णय भएको छ । रासस