आज हरितालिका तीज, घरैमा बसेर मनाउन धर्मशास्त्रविद्को सुझाव

रिपोर्ट नेपाल | 2020 Aug 21 | 07:24 am 1469

काठमाडौं, भदौ ५ः तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ।

यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ।

आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।

विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत बस्नेदेखि गरिने क्रियालापमै असर परेको छ ।

तीजका दिन संक्रमण फैलन सक्ने भन्दै यस्तो बेला भीड जम्मा गरेर हासी खुसी गर्दै नाच गान रमाइलो गर्नु उचित नहुने धर्मशास्त्रविद् बताएका छन् । यस्तो विषम परिस्थितीमा ज्यानै जोखिम राखेर व्रत बस्ने, मन्दिर जाने, मान्छे जम्मा गरेर रमाइलो गर्ने भन्दा पनि आफ्नो घरमा नै बसेर भगवानलाई मनले सम्झन धार्मिकशास्त्रविद्ले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.