आज विश्व क्यान्सर दिवस

| 2021 Feb 04 | 08:55 am 2061

काठमाडौं, माघ २२: आज विश्व क्यान्सर दिवस। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रुअरी ४ तारिखमा मनाइँदै आएको छ। यस वर्षको नारा ‘म हुँ र म हुनेछु’ भन्ने तय गरिएको छ।

क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउन लागेका हुन्।

नेपालमा बर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। वातावरण र खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ।

त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ। नेपालमा वर्सेनि १५ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ।

सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन्। त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको बताइन्छ। धुम्रपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाव दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.