काठमाडौं, पुस २७ः आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।
भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । पृथ्वी नारायण शाहले सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिई रहेका छ।
सन् १८५८ देखि १९४७ का बिच उपनिवेश उन्मुख अङ्ग्रेजहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि अङ्ग्रेजको डरले करिब ५ सय ६२ वटा बाइसी-चौबीसी राज्यहरूले अङ्ग्रेजलाई कूत बुझाउँथे । यो परिस्थितिलाई अध्ययन गर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले ब्रिटिस साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग जटिल कूटनीति लडाइलाई समेत विजय हासिल गरेको देखिन्छ।
नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भई पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगड, केही हातहतियार र मुसलमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए भन्ने इतिहासमा पढ्न पाइन्छ।