काठमाडौं, भदौ १२: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन तयारीका क्रममा मंगलबार परराष्ट्र सचिवस्तरीय बैठक बस्दै छ।
सोमबार साँझ सदस्य मुलुकका परराष्ट्र सचिव काठमाडौं आइपुगेका छन्। बुधबार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ भने बिहीबार सम्मेलनको औपचारिक उद्घाटन हुनेछ।
परराष्ट्र सचिव शंकरदास बैरागीले मंगलबारको बैठकको अध्यक्षता गर्नेछन्। परराष्ट्रका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार बैठकका लागि भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका परराष्ट्र सचिव काठमाडौं आएका छन्। उनीहरूलाई सोमबार साँझ सचिव वैरागीले रात्रिभोज दिएका छन्।
मंगलबार परराष्ट्र सचिवस्तरीय बैठकले तय गर्ने कार्यसूचीमाथि बुधबार परराष्ट्र मन्त्रीस्तरीय बैठकमा छलफल हुनेछ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकको अध्यक्षता गर्नेछन्। बैठकले बिमस्टेक घोषणापत्रमा हस्ताक्षर गर्ने समझदारीपत्रलाई अन्तिम रूप दिनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार होटल सोल्टीमा बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री एवं बिमस्टेक अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन्।
सोही बिहान १२:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिमस्टेकका कार्यकारी प्रमुखहरूले सामूहिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसपछि दिवाभज खाएर सम्मेलन उद्घाटनका लागि शीर्ष नेता सोल्टी होटल पुग्नेछन्।