काठमाडौं, पुस १८ः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ः३० बजे बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र सभामुख पदको उम्मेदवार छनोटका विषयमा छलफल हुने बताइएको छ ।
बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोटका विषयमा छलफल भए पनि कुनै निष्कर्ष भने निस्किएका थिएन । उक्त बैठकमा सभामुख पदको उम्मेदवार छनोट गर्ने विषयमा भने प्रवेश गर्न नपाई नै बैठक स्थगित भएको थियो ।
यसैगरी पटक पटक बसेको बैठकमा प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएको थियो तर कुनै पनि सहमति हुन सकेको छैन ।
राष्ट्रियसभाको १८ सिटमध्ये दुई सिट राष्ट्रिय जनता पार्टी (राजपा)लाई दिने सहमति भएकाले नेकपाले १६ सिटका लागि उम्मेदवार टुङ्ग्याउनुपर्ने देखिएको छ ।