फाइल तस्बिर
काठमाडौं, पुस १० : आज क्रिसमस दिवस। क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
यस अवसरमा काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ । आजका दिन मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन्।
दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले बहुभाषिक तथा बहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको बताएका छन्।
शुभकामनामार्फत प्रधानमन्त्री ओलीले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताए।