आज कोजाग्रत पूर्णिमा, बडादशैँको विधिवत समापन

| 2018 Oct 24 | 06:44 am 2611

काठमाडौं, कार्तिक ७: आश्विन शुक्ल पूर्णिमाका दिन आज कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहीआएको छ।

दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ। यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ।

कोजाग्रत पूर्णिमामा सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलि पूर्ति गरेपछि दशैँ समाप्त हुन्छ। यस वर्ष तिथिको घटबढका कारण अखिल बलि पूर्ति हिजै परेको थियो। महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्ने चलन छ। यस्तै सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि भगवान विष्ष्णुलाई स्मरण गर्दै आकाशदीप दान पनि शुरु हुन्छ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घर–घरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ। कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ। कोजाग्रत पूर्णिमाका अवसरमा आजै बौद्ध धर्मावलम्वीले स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गर्छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.