काठमाडौं, फागुन ३: नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ।
संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको काग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले साेमबारकाे प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल पनि गरेका छन्।
‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ। पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’ देउवाले भनेका छन्।