आजदेखि संयुक्त सैन्य अभ्यास, नेपाल पर्यवेक्षकका रुपमा सहभागी

| 2018 Sep 10 | 11:56 am 1740

काठमाडौं, भदौ २५: भारतको पुनामा बिम्स्टेक राष्ट्रहरुको प्रतिआंकवाद सम्बन्धी संयुक्त सैन्य अभ्यास आजदेखि शुरु हुने भएको छ।

‘माइलेक्स २०१८’ नाम दिइएको साताव्यापी उक्त संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तीन जना अधिकृतले पर्यवेक्षकका रुपमा भाग लिनेछन्। संयुक्त सैन्य अभ्यासको उक्त प्रस्ताव बिम्स्टेकको भावना विपरीत भएको र यसअघि त्यस विषयमा कुनै छलफल र चर्चा नभएको भन्दै आलोचना भएपछि नेपाल पर्यवेक्षकका रुपमा मात्र सहभागी हुने भएको हो।

काठमाडौंमा हालै सम्पन्न चौंथो बिम्स्टेक शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुनामा बिम्स्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेका थिए ।

नेपाल पनि सैन्य अभ्यासमा सहभागी हुने भन्ने कुराको सर्वत्र विरोध भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर त्यसमा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएका थिए।

आजदेखि ३१ गतेसम्म हुने उक्त संयुक्त सैन्य अभ्यासमा ३० सदस्यीय टोली पठाउने गरी नेपाली सेनाले आवश्यक तयारी गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापा सैन्य अभ्यासको समापन समारोहमा जाने तय भएकोमा सरकारको पछिल्लो निर्णयपछि उनी उक्त कार्यक्रममा नजाने भएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.