आजदेखि ट्रेड युनियन कांग्रेसको महाधिवेशन हुने

| 2023 Jun 19 | 11:54 am 1965

काठमाडौँ,असार ४। नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको छ। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए ।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले यस महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापकरूपमा उठाउने बताए। महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने जानकारी दिए । उनले ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने बताए ।

ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशनमा प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिए । महाधिवेशनमा सहभागिता जनाउन महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आइसकेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.