आगलागी हुँदा ताप्लेजुङमा वडा कार्यालय ध्वस्त

| 2022 Jun 20 | 06:19 pm 1721

ताप्लेजुङ, असार ६ः ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेको वडा कार्यालय आगलागीबाट ध्वस्त भएको छ । घर भाडामा सञ्चालन हुँदै आएको वडा कार्यालय आइतबार राति भएको आगलागीबाट ध्वस्त भएको हो ।

चाक्सिबोटेका वडाध्यक्ष रमेश खालिङ राईकाअनुसार स्थानीय मानबहादुर राईको घरमा भाडामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । आइतबार राति करिब ११ बजेतिर अचानक आगलागी हुँदा वडा कार्यालयमा रहेको सबै सामाग्री जलेर नष्ट भएको वडाध्यक्ष राईले जानकारी दिए ।

राईकाअनुसार कार्यालयमा रहेको कम्प्युटर, दराज, कुर्सीलगायत सबै जिन्सी सामग्री जलेर खरानी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी चौकी थुम्बेदिनदेखि गएको प्रहरी टोलीसमेतबाट आगलागीले भएको क्षति विवरण सङ्कलनको कार्य भइरहेको वडाध्यक्ष राईले बताए ।

यता, घरधनी राईको पनि सबै सामाग्री जलेर नष्ट भएको छ । वडा कार्यालय भुँइतलामा र घरधनी राईको परिवार माथि तलामा बस्दै आएको बताइएको छ । आगलागी सुरु हुने बित्तिकै थाहा पाएका कारण राई परिवारले भागेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.