सङ्खुवासभा, जेठ २१ः गएराति आगलागीमा परेर सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा किरियापुत्री बसेका एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहाल रहेका छन् ।
सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बस्नुभएका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए ।
आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उहाँकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उनले जानकारी दिए ।