आगलागीबाट अछाममा सात घर जलेर ध्वस्त

रिपोर्ट नेपाल | 2019 May 25 | 11:05 am 3242

अछाम, जेठ ११: जिल्लाकाे ढकारी गाउँपालिका–४ बलातामा भिषण आगलागी भएको छ ।

उक्त आगलागीबाट सात वटा घर जलेर ध्वस्त भएका छन् भने ठूलाे संख्यामा पशु चौपाया जलेर नष्ट भएका छन् । शुक्रबार साँझ करिब सात बजेतिर लागेको आगोबाट सात घर र  गोठमा रहेका गाइ, बाख्रा, भैसी सबै चाैपाया जलेको स्थानीयले जानकारी दिएका छन् ।

आगो मीन बुढाको घरबाट सुरु भएकाे स्थानीय प्रेम बुढाले जानकारी दिए । आगलागीबाट  घरमा रहेका सम्पूर्ण सामाग्री, अन्नपात लुगाकपडा केही पनि  जाेगाउन नसकिएकाे बताए छन् । त्यहाँका प्रत्येकको गोठमा कम्तिमा पनि २०–२५ बाख्रा र गाई गोरु रहेकाले जलेका पशु चौपायाको संख्या सयाैं  हुन सक्ने बुढाले बताए ।

स्थानीयले गरेका अनुमानमा मीनको घर नजिक बारीमा झारपात जलाउन बालेको आगो घरमा सल्किएको हुन सक्ने बताएका छन् । मीन बुढाको घरबाट नजिकै रहेको वडा अध्यक्ष भक्त बुढाको घर हुँदै रुदा बुढा, जोगी बुढा, इन्द्र बुढालगायतको घरमा सल्किएको बताए ।

शुक्रबार लागेकाे आगाे  शनिबार बिहान मात्र नियन्त्रणमा आएको छ । रातभर स्थानीय र प्रहरी आगो नियन्त्रणमा जुटेका थिए । याे क्षेत्र अछामको दक्षिण भुभागमा पर्ने बलाता भौगोलीक रुपमा निकै बिकट मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.