काठमाडौँ, मङ्सिर ५। माओवादी द्वन्द्वका ती डरलाग्दा दिनहरूमा जेनतेन जोगिएकी थिई मेरी छोरी टुल्की बुढा। अहिले ४९ वर्ष पुगेकी उनलाई अस्तिको भूकम्पले लग्यो। साथमा उनकी २१ वर्षकी छोरी कृष्णा पनि भूकम्पमै परिन्। नातिनी र छोरीको लास देखेर म त्यहीँ ढलेँ। कसैले पानी छर्किदिएपछि बल्ल होस खुल्यो।
द्वन्द्वमा मेरो १७ वर्षे छोरा अर्जुन राना स्कुल ड्रेसमै मारिँदा मेरा बलिन्द्र आँसु बगेका थिए। त्यस्तै आँसु शुक्रबार रातिको भूकम्पमा छोरी र नातिनी गुमाउँदा बगे।
मेरो छोरा अर्जुन जाजरकोट खलंगामा आफन्तकहाँ बसेर कक्षा ९ मा पढ्थ्यो। २०५५ मंसिरमा स्कुल बिदामा ऊ घर आएको थियो। मंसिर ४ गते राति गस्तीमा आएका प्रहरीले उसलाई घरबाटै लिएर गए। जेलमा त राखेको होला भनेर अर्को दिन खाना लिएर गएँ। तर, भेट्न दिएनन्। प्रहरीले लगेको ११ दिनपछि छोरा माछा मार्ने नालोमा मृत फेला पर्यो। मेरो छोरालाई माओवादी भन्दै मारेर फालेछन्। स्कुलकै ड्रेसमा थियो रे, मैले त लास पनि देख्न पाइनँ।उनीहरूले शव पनि जलाउन दिँदैनथे।
शव देखेको भए प्रहरीले फेरि सताउन आउने भएकाले हेर्न पनि जान सकिन। डराइ–डराइ आफन्तले शव गाडेर फर्किए। अन्तिम दाहसंस्कार गर्न पाइनँ। माओवादी आएर खाना पकाउन लगाउँथे। खाना नदिए सरकारी सुराकी सीआईडी भन्थे। उता आर्मी प्रहरी आएर माओवादीलाई खान खुवाउने भनेर धम्क्याउँथे। द्वन्द्वकालभरि चैनले बस्न पाइनँ। युद्ध सकिँदा पनि शान्तिको श्वास फेर्न पाइएन। दुःख पीडा अभाव उस्तै रह्यो।
शान्ति सम्झौतापछि माओवादी सत्तामा गयो। पहिले उनीहरूले भन्दै आएका समानताका नारा भुल्दै गए। आफूहरू महलमा बस्न थाले। हाम्रा दिन उस्तै भए। गरिबका छोराछोरीलाई मर्न र मार्न लगाए। आखिर सत्ताकै लागि त रहेछ।
गत असारमा श्रीमान् बित्नु भो। विवाह गरिसकेकी छोरीले आमा एक्लै छन् भनेर मलाई सघाइरहेकी थिई। कहिले आफ्नो घर नलगाड जान्थी, कहिले मसँगै बस्थी। छोरा मारिएको पीडा त सहेकै थिएँ, अब त छोरी र नातिनी पनि गुमाएँ। ओत लाग्ने घर भत्कियो। यतिका दुःख झेलेर यहाँँसम्म आएकी थिएँ। अब त रुँने दिन सकिएजस्तो लागेको थियो। उल्टै छोरी नातिनी पनि मलाई एक्लै छाडेर गए। अब म कसरी बाचूँ ? बाँच्ने आधार सबै गुमिसके। सरकारलाई हामी जनताभन्दा सत्ता नै सधैं प्यारो छ।
(अन्नपुर्णबाट)