आइपिएलबाट फर्केका सन्दीपलाई फ्यानले घेरेपछि…

रिपोर्ट नेपाल | 2018 May 25 | 02:42 am 2944

चितवन, जेठ ११ : इण्डियन प्रिमियर लिग ‘आईपीएल’ खेलेर चर्चित बनेका क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवन आइपुगेका छन् ।

सन्दीप काठमाडौंबाट चितवनको भरतपुर हुँदै रत्ननगर नगरपालिका –८, चित्रसारी नजिकै रहेको घर आइपुगेका छन् ।

सन्दीप शुक्रबार अपरान्ह बुद्ध एयरमार्फत चितवन आइपुगेका हुन् । शनिबार पोखरा जाने र त्यसपछि लण्डन गएर फर्किएपछि मात्र उनी औपचारिक रुपमा चितवन आउने छन् । सन्दीप अनौपचारिक रुपमा जिल्ला आएको हुनले औपचारिक रुपमा स्वागत र सम्मानका कार्यक्रम भने भएको थिएन ।

एक्लै चितवन आएका सन्दीपलाई औपचारिक स्वागतका लागि भने क्रिकेटसँग सम्बन्धित कोही पनि आएनन् । औपचारिक रुपमा नआएका हुनाले उनलाई भरतपुर विमानस्थलमा दिदी भिनाजुले स्वागत गरेका थिए । आफू चितवन नितान्त पारिवारिक भेटघाटका लागि आएकोले कसैलाई पनि खबर नगरी आएको बताएका उनलाई विमानस्थलबाट बाहिँरिदा फ्यानहरुले स्वागत गरेका थिए ।

संक्षिप्त प्रतिक्रिया दिँदै उनले आईपीएल खेल्दा धेरै कुुरा सिकेको बताए । क्रिकेटकै माध्यमबाट आफ्नो देशका लागि केही गर्ने लक्ष रहेको बताउँदै उनले नेपालको क्रिकेट विकासका लागि सम्बन्धित निकाय निकै गम्भीर बन्नुपर्ने बताए । क्रिकेट क्षेत्रको विकासका लागि जिम्वेवारी लिएकाहरु थप जिम्मेवार भैदिन आग्रह गर्दै उनले भने, ‘सबै मिलेर क्रिकेट क्षेत्रको विकास गरौँ ।’

भरतपुरबाट १२ किलोमिटर टाढाको रत्ननगर चित्रसारीमा रहेको सन्दीपको घरमा पनि उनलाई भेट्न धेरै जना आएका थिए । सन्दीपका बुबा चन्द्रनारायण लमिछानेले आफू र आफ्नो परिवार धेरै खुशी भएको बताउनुभयो । भेट्नका लागि आएकाहरु सबैलाई खुला गरिएको थिएन । अनौपचारिक रुपमा पारिवारिक भेटघाटमा आएको हुनाले खुला कार्यक्रम भने भएको थिएन ।

आईपीएलमा मुम्बईका अन्तिम ३ खेलमा खेल्ने मौका पाएका सन्दीपले बेंग्लोर र चेन्नईसँग एक–एक तथा मुम्बई इण्डियन्ससँग ३ विकेट लिँदै क्रिकेटमा उदाउँदो स्पिनरको छाप छोडेका छन् । उमेर समूह तथा नेपालको राष्ट्रिय टिमबाटै धारिलो बलिङ गरेर चर्चामा आएका सन्दीपलाई आईपीएलले चर्चाको चुलीमा पुर्याइदिएको हो ।

सन्दीपका गुरु समेत रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान राजु खड्काले आईपीएलमा सन्दीपको यो प्रदर्शनले उनलाई मात्र होइन नेपाललाई पनि चिनाएकामा खुशी भएको बताउनुभयो ।

सन्दीप लामिछाने क्रिकेटमा सितिमिति नपाइने प्रतिभामध्येका एक रहेको उनका प्रशिक्षकहरुले मात्र होइन विश्व क्रिकेटका हस्तीहरुले पनि बताइरहेका छन् । ठिक समयमा ठिक अवसर पाएका उनले त्यसलाई पुष्टि पनि गरेका छन् । सन्दीपको सफलताले एकातिर नयाँ खेलाडीलाई क्रिकेटमा आउन हौस्याएको त छ नै खेललाई सम्मानका साथ हेर्न हिच्किचाउने अभिभावकलाई समेत खेलेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण पनि आँखै अगाडि दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.