अहिलेसम्मकै ठूलाे परिमाणमा ३ टन अफ्रिकी हात्तीको दाह्रा बरामद

रिपोर्ट नेपाल | 2018 Dec 16 | 03:16 pm 2188

नोहपेन्ह, पुस १ :  कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो ।

नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी हुने पारवहन मुलुकका रुपमा हेर्ने गरिन्थ्यो ।

भन्सार विभागका निर्देशक सन छ्याएले हात्तीको बहुमूल्य दाह्रा त्यसै छाडिएको कन्टेनरभित्र फेला परेको बताए । उनले उक्त कन्टेनर गत वर्ष नै दक्षिण अफ्रिकी देश मोजाम्बिकबाट आएको जानकारी दिए । पहिचान नखुलेको उक्त कन्टेनरका मालिक हालसम्म सम्पर्कमा नआएको उनकाे भनाइ छ ।

सन छ्याएले उक्त सामग्री अरु मुलुक पठाउन यहाँको बन्दरगाह प्रयोग गरिएको हुनसक्ने बताए । चीन र भियतनाममा बढ्दो मागका कारण तस्करहरुले वन्यजन्तुका आखेटोपहार ढुवानी गर्न कम्बोडियाको मार्ग प्रयोग हुने गरेको छ ।

कम्बोडियाको कमजोर कानुनी व्यवस्था एवं भ्रष्टाचारका कारण वन्यजन्तुको तस्करी बढेको छ, खासगरी छिमेकी मुलुक थाइल्यान्डले उक्त प्रतिबन्धित व्यापारमाथि कडाई गरेपछि तस्करहरु कम्बोडियातर्फ आकर्षित भएको पाइएको छ ।

चीन र भियतनाममा हात्ती र गैंडाका हाडखोरलाई परम्परागत औषधि र अन्य चिकित्सा क्षेत्रमा प्रयोग गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.