अस्ट्रेलियाको क्यानबेरामा नयाँ वर्ष भब्यताकासाथ मनाइयो

| 2023 Apr 18 | 06:51 pm 1817

  • श्याम दुलाल (रिपाेर्ट नेपाल समाचारदाता)

काठमाडौं, बैशाख ५ः नयाँ वर्ष २०८० को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरी मनाइयो। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ९१४ अप्रिल, २०२३० अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपालीहरुले लेनक्स गार्डेन्समा आतिसबाजीसहित नयाँ वर्ष मनाएका हुन्।

अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरुको क्यानबेरामा उल्लेख्य बसोबास रहेको छ। अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरु बस्दै आइरहेका छन्।

तर, भारतसँग सीमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए। त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिसबाजी गरिएको उनले बताए।

नेपाली र भारतीयको संस्कार, संस्कृती र चाडपर्वहरु समान छन् र उनीहरुको शारिरिक बनोट पनि लगभग उस्तै हुन्छ। जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ, र हाम्रो आफ्नै पहिचान बन्न सकेको छैन, आयोजक सनातन समाज अस्ट्रेलियाकाअध्यक्ष सन्तोष मल्लले भने, त्यसैले नेपाली र भारतीय फरक हुन् । हाम्रो आफ्नै संस्कृति छ, चाल चलनहरु छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजी सहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाएका हौं।

दसैं, तिहार,फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवै तिर मनाइन्छ। यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लको अनुभव छ। तर, नयाँ वर्ष भने भारतमा इस्वी संवत् अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत् अनुसार वैशाखमा मनाउने गरेको छ।

चीन, इरान लगायत छुट्टै क्यालेन्डर मान्ने देशहरुले नयाँ वर्षमा विशेष कार्यक्रम आयोजना गर्दै आफ्नो पृथकता र विविधता अन्तर्राष्ट्रिय वृत्तमा प्रस्तुत गर्दै आएका छन्। त्यसैले, वैशाख १ गते आतिसबाजी गर्दै नेपालीहरुको आफ्नो छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिने कुरा सनातन समाजले जनाएको छ।

नेपालीको आफ्नै मौलिकता छ, आफ्नै पात्रो, नयाँ वर्ष र आफ्नै संवत् छ, हाम्रो संस्कृतीका पक्ष पाटाहरु बिशिष्ट छन्, हाम्रो अनुष्ठान बिशेष छन्, र हाम्रो बिशिष्टताको जानकारी मुलक सन्देश सम्पूर्ण अष्ट्रेलियालाई दिनु हाम्रो मुख्य ध्येय हो, अध्यक्ष मल्लले बताए।

सोलगायत हाम्रो आऊदा पुस्ताले भौगोलिक हिसावले जता बसोबास गरेपनि संस्कृतीलाई सदैव माया गरुन् र हाम्रो बिशिष्ट पहिचानलाई निरन्तरता दिउन् भन्ने अर्को ध्येय हो, अध्यक्ष मल्लले थपे।

नेपाली नयाँ वर्ष अस्ट्रेलियामा मात्र नभएर नेपालीको बसोबास रहेको सबै देशमा धुमधामसँग मनाउनु पर्ने सनातन समाज अस्ट्रेलियाको तर्क छ। विदेशमा नेपालीको आफ्नै मौलिक पहिचान स्थापित गर्न पनि यो आवश्यक रहेको संस्थाले जिकिर गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.