असोजसम्मका लागि पर्यटकले भिसा नवीकरण गर्न पाउने

रिपोर्ट नेपाल | 2021 Aug 25 | 08:06 am 1769

काठमाडाैं, भदाै ९ः सरकारले विदेशी नागरिकले पर्यटक भिसामा नेपालमा बसोबास गर्न पाउने समय थप गरेको छ । नेपालमा रहेका पर्यटकले भिसा नवीकरण गरी आगामी १४ असोज अर्थात् ३० सेप्टेम्बर सन् २०२१ सम्म बस्न पाउने भएका हुन् ।

कोभिड–१९ को असरबाट अन्तर्राष्ट्रिय उडानहरु पूर्णरुपमा सञ्चालनमा आइनसकेका कारण हवाई टिकट पाउन कठिनाइ रहेको भन्दै गृह मन्त्रालयले मन्त्रीस्तरबाट सो निर्णय गरेको हो । सरकारले गत वैशाख १६ देखि गरेको निषेधाज्ञाका कारण उडान तथा भ्रमणमा प्रतिवन्ध लगाउँदा पर्यटकहरु तोकिएको गन्तव्यमा पुग्न नसकेको अवस्था थियो ।

अध्यागमन विभागले सूचना जारी गर्दै भनेको छ, “टिकटको उपल्बधतामा सहजीकरण नभएको भन्दैं आफ्नो देश फर्कन नसकेका र भिसा वर्षको प्रारम्भमा नेपालको वैध भिसा भएका विदेशी पर्यटकहरुका लागि अध्यागमन विभागको नियमानुसार शुल्क तिरी भिसा नविकरण गरी नेपालमा बस्न पाउने अवधि ३० सेप्टेम्बरसम्म कायम गरेको छ ।”

नेपालमा रहेका पर्यटकहरुले अध्यागन कानूनलाई पालना गरी नियमानुसार भिसा शुल्क तिरेर आगामी सेप्टेम्बर ३० सम्म बस्न पाउने निर्णय गरेको विभागका निर्देशक झंकनाथ ढकालले बताए । उनले भने, “पर्यटकलाई सहज गर्न र कोभिड–१९ कारण समस्यामा परेका पर्यटकको सहजिकरणको लागि यो सूविधा प्रदान गरिएको हो ।”

सरकारले यसअघि पनि नेपालमा रहेका विदेशी नागरिक (पर्यटक भिसामा रहेका) नवीकरण, विलम्ब र जरिवाना छुट दिएर स्वदेश फिर्ता हुन सहजीकरण गर्दै आएको थियो । अध्यागमन ऐन २०४९ अनुसार विदशी नागरिकले पर्यटक भिसामा १ सय ५० दिनसम्म बस्न पाउने व्यवस्था छ । गत आर्थिक वर्षमा विभागबाट १७ हजार ८ सय ८५ जनालाई पर्यटन भिसा प्रदान गरेको थियो, भने सो अबधिमा ६८ हजार १ सय ८१ विदेशी नागरिक नेपाल भित्रिएको विभागले जनाएको छ ।

अध्यागमन विभागले पर्यटक र गैर पर्यटक गरि कुल ९ प्रकारको भिसा प्रदान गर्दै आएको छ । विभागका अनुसार भिसा नविकरणका लागि प्रत्येक दिनको ३ डलर लाग्छ भने विलम्ब शुल्क त्यसमा ५ डलर थप हुन्छ । त्यसैगरी जरिवाना शुल्क ५० हजार रुपैयाँसम्म विभागका महानिर्देशकले जारिवाना गर्न सक्ने कानूनी व्यवस्था छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.