सिरहा, पुस ६: ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ज २ प ६४२२ नंको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला दुई, मङ्गलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का बाला टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औँठी एक थान र बच्चाले लगाउने बलिया तीन थान बरामद भएको प्रवक्ता बोहराले बताए।
पक्राउ परेका रायमाथि आवश्यक अनुसन्धान भइरहेको बुझिएको छ ।